काठमाडौं । एकपटक बढेको जग्गाको मूल्य घट्नै नपाउने व्यवस्था गर्न लागिएको छ । भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले तयार गरेको मालपोत नियमावली संशोधनको मस्यैदामा त्यस्तो व्यवस्था गरिएको हो ।
प्रस्तावित नियमावलीमा एकपटक एकपटक पास भइसकेको मूल्यमा घटेर अर्को पटक घरजग्गाको कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ । त्यस्तै, प्रस्तावित नियमावलीमा जग्गाको न्यूनतम र अधिकतम मूल्य तोक्ने व्यवस्था गरिएको छ । अहिले जग्गाको लिखत पास तथा ऋण प्रयोजनको लागि न्यूनतम मूल्य मात्रै तोकिँदै आएको थियो ।
यसरी अधिकतम मूल्य तोक्दा बाटो, बिजुली, खानेपानी लगायतको सुविधाहरु हेरेर तोक्ने व्यवस्था गरिएको छ । त्यस्तै जग्गाको मूल्यांकनलाई पनि वैज्ञानिक ढंगले निर्धारण गर्ने र प्रयोजनै पिच्छे छुट्टाछुट्टै व्यवस्था हुन नदिने व्यवस्था नियमावलीमार्फत् गर्न लागिएको छ ।



