काठमाडौँ । लाभांश वितरणमा राष्ट्रिय वाणिज्य बैंकले २५ वाणिज्य बैंकलाई पछि पारेको छ । सरकारको पूर्ण स्वामित्व रहेको सो बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३३ प्रतिशत लाभांश घोषणा गरेको छ । यो वाणिज्य बैंकहरुमध्येकै दोस्रो सर्वाधिक हो ।
बैंकले ३० प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद सहित सो परिमाणमा लाभांश घोषणा गरेको हो । लाभांश घोषणासँगै बैंकले पुस २९ गते बस्नेगरी साधारणसभा समेत बोलाएको छ । उक्त दिन बैंकको केन्द्रीय कार्यालयस्थित सभा हलमा साधारणसभा बस्नेछ ।
३० प्रतिशत बोनस शेयरपछि राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी ११ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ । अहिले सो बैंकको चुक्ता पुँजी ९ अर्ब १८ करोड मात्रै छ ।
राष्ट्रिय वाणिज्य बैंकको यो प्रस्तावसँगै सबै वाणिज्य बैंकले पछिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा सम्पन्न गरेका छन् । जसअनुसार नबिल बैंक ३८ प्रतिशत लाभांशसहित सर्वाधिक लाभांश दिने बैंक बन्दा राष्ट्रिय वाणिज्य बैंक ३३ प्रतिशतसहित दोस्रो, हिमालयन बैंक २६ प्रतिशतसहित तेस्रो तथा कृषि विकास बैंक २१.०५२६ प्रतिशतसहित चौथो स्थानमा रहेको छ ।



