काठमाडौँ । कतार सरकारले विदेशी श्रमिक तलब वृद्धि गरेको छ । कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक हजार रियालले वृद्धि गरेको हो ।
नेपालस्थित कतारी दूतावासले सार्वजनिक गरेको प्रतिवेदनमा प्रतिमहिना एक हजार रियाल अर्थात् ३० हजार रुपैयाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब एक हजार ८०० रियाल अर्थात् ५० हजार रुपियाँभन्दा बढी पुगेको जनाइएको छ ।
दूतावासका अनुसार अब खानबस्नको राम्रो व्यवस्था भएका कम्पनीले महिनावारी एक हजार रियल तलब दिनुपर्ने र यस्तो व्यवस्था नभएका रोजगारदाताले मासिक एक हजार ८०० रियाल दिनैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ ।
यसले कतारमा रहेका लगभग एक हजार रियालभन्दा कम पारिश्रमिक लिएर काम गरिरेका एक लाखभन्दा बढी नेपालीले लाभ लिनेछन् । कतारको श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नयाँ तलबमान व्यवस्था लागू भएपछि एक हजार रियालभन्दा कम पारिश्रमिक पाइरहेका ३ लाख ८ हजार १ सय ४६ जनाले १ हजार ८ सय रियाल पारिश्रमिक पाउन थालेका छन् ।
कोरोना महामारीको समयमा विदेशी श्रमिकलाई काम तथा आम्दानीमा कमी नहोस् भनेर कतार सरकारले अनलाइनमार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेब पोर्टल तयार गरेको छ । आगामी वर्ष २०२२ को नोभेम्बर–डिसेम्बरमा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले अप्रिल २०१८ देखि नै राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को कार्यालय कतारको राजधानी दोहामा राख्न दिएर काम गर्न थालेको छ ।
“आईएलओसँगको सहकार्यपछि कतार सरकार आप्रवासी श्रमिकको हकमा खाडी देशमध्येकै सुधारवादी राज्य बन्न सफल भएको छ । कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ,” कतार सरकारले घरेलु श्रमिकको हकमा गरेका सुधार तथा प्रयासबारे कतारी श्रम मन्त्रालयको रिपोर्टमा भनिएको छ ।
काठमाडौँस्थित कतारको दूतावासले विज्ञप्तिमार्फत कतारमा घरेलु श्रमिकका लागि मानक रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्ययोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको जनाएको छ । कतार सरकारले घरेलुु श्रमिकलाई अन्य श्रमिकसरह व्यवहार गर्ने सेवासुविधा प्रदान गर्ने, आराम तथा बसोबासको व्यवस्था गर्ने र उनीहरूलाई काम चित्त नबुुझेमा रोजगारदाता परिवर्तन गर्न अधिकार दिएको पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ । साथै नयाँ व्यवस्थाअनुसार कतारमा रहेका सबै प्रकारका श्रमिकलाई समस्या परेको खण्डमा गुनासो टिपाउन छुुट्टै हटलाइन र काम गर्न नसक्नेलाई अस्थायी सेल्टरको व्यवस्था गरिने जनाइएको छ ।
विदेशी श्रमिकको रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको जनाइएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार हाल कतारमा साढे तीन लाख नेपाली घरेलु श्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन् ।



