काठमाडौँ । १ चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आथिर्क बर्षको सुरुको पाँच महिनामा पाँच खर्ब ७५ अर्ब रुपैयाँ रहेको मुलुुकको वैदेशिक व्यापार चालू आथिर्क बषको सोही अवधिमा नौ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।
भन्सार विभागद्वारा आज यहाँ जारी पछिल्लो तथ्याङ्कानुसार गत आथिर्क बर्षका तुलनामा आयात ५९ दशमलव ५५ प्रतिशतले बढेको छ । गत आथिर्क बर्षको पहिलो पाँच महिनामा ५ खर्ब २५ अर्ब रुपैयाँ मूल्य बराबरको आयात भएकामा चालू आथिर्क बर्षको मंसिर मसान्तसम्म आठ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै गत आथिर्क बर्षको पहिलो पाँच महिनाका तुलनामा चालू आथिर्क बर्षको निर्यात १ सय ५ दशमलव ६१ प्रतिशतले बढेको छ । गत आथिर्क बर्षको मंसिर मसान्तसम्म ५० अर्ब पाँच करोड रुपैयाँ बराबरको निर्यात भएकामा चालू आथिर्क बर्षको समीक्षा अवधिमा १ खर्ब २ अर्ब रुपैयाँ बराबरकोे निर्यात भएको छ ।
विभागका अनुसार चालू आथिर्क बर्षको पहिलो पाँच महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भए तापनि मुलुकको व्यापार घाटा भने अघिल्लो आथिर्क बर्षको तुलनामा ५४ दशमलव ७ प्रतिशतले बढेर सात खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । गत आथिर्क बर्षको पहिलो पाँच महिनामा व्यापार घाटा चार खर्ब ७५ अर्ब रुपैयाँ थियो ।
मुलुकको कूल वैदेशिक व्यापारमा गत आथिर्क बर्षको पहिलो पाँच महिनासम्म आयातको हिस्सा ९१ दशमलव तीन प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ४५ प्रतिशतले घटेर चालू आथिर्क बर्षमा ८९ दशमलव ०७ प्रतिशतमा आएको छ ।
त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५ दशमलव ७२ प्रतिशतले बढेर १० दशमलव ९३ प्रतिशत पुगेको छ । यस्तो हिस्सा अघिल्लो आथिर्क बर्षको पहिलो पाँच महिनामा आठ दशमलव सात प्रतिशत थियो ।
चालू आथिर्क बर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । चालू आथिर्क बर्षको मंसिर महिनासम्म ४९ अर्ब दुई करोड रुपैयाँ बराबरको डिजेल आयात भएको देखिन्छ ।
त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रामा छ । नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालू आथिर्क बर्षको पहिलो पाँच महिनामा ३३ अर्ब ६६ करोड रुपैयाँ मूल्य बराबरको करिब ९८ करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएकोे देखिन्छ । त्यस्तै पाम आयल २४ अर्ब ६१ करोड रुपैयाँ पेट्रोल २४ अर्ब १० करोड र एलपी ग्यास रु २३ अर्ब ११ करोड तथा टेलिफोन २० अर्ब ३५ करोड रुपैयाँको आयात भएको विभागले जनाएको छ ।



