images
images

शुक्रबारदेखि खारेज हुँदै पुनर्निर्माण प्राधिकरण, बाँकी काम अब कसले हेर्छ ?


  • 396
    SHARES
  • २०७८ पौष ७ गते बुधबार

    शुक्रबारदेखि खारेज हुँदै पुनर्निर्माण प्राधिकरण, बाँकी काम अब कसले हेर्छ ?

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्ति, श्रेष्ता हस्तान्तरण हुने भएको छ । प्राधिकरणको निर्देशक समितिको बैठकले २०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा विस्थापित परिवारहरुको पुनर्स्थापनासम्बन्धी कार्यहरुलाई सफलतापूर्वक सम्पन्नताको चरणमा पुयाएकोले दायित्व, सम्पत्ति, श्रेष्ता हस्तान्तरण गर्ने निर्णय गरेको हो।

    प्रधानमन्त्री एवं प्राधिकरण निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको निर्देशक समितिको २१ औं बैठकले पुनर्निर्माण तथा पुनर्स्थापनामा प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पुर्याउने अन्तर्राष्ट्रिय समुदाय, राजनैतिक दल, तीनै तहका सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज, निजी क्षेत्र, गैरसरकारी संस्था, प्राज्ञिक क्षेत्र, सञ्चारकर्मी, स्थानीय समुदाय तथा सम्पूर्ण भूकम्प पीडित जनताप्रति पनि आभार व्यक्त गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको पुनर्निर्माणमा सहयोग पुर्याउने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए । प्रधानमन्त्री देउवाले हस्तान्तरण भएका बाँकी कार्यहरु समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने विश्वास दिलाए।

    निर्देशक समितिका उपाध्यक्ष एवं नेकपा (एमाले) का नेता सुवास नेम्वाङले पुनर्निर्माणका अनुभव र सिकाइलाई संस्थागत सम्झनामा राख्न सुझाव दिंदै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप स्वायत्त र अधिकार सम्पन्न बनाउन उपयुक्त हुने धारणा व्यक्त गरे।

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणबाट प्राप्त उपलब्धिहरुको चर्चा गर्दै विपद् उत्थानशील विकासलाई राष्ट्रिय विकास योजनाको अभिन्न अंगका रुपमा लैजानुपर्ने र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विशिष्ट कानुनी अधिकारसहित आवश्यक वित्तीय व्यवस्थापनका साथै जनशक्ति उपलब्ध गराउनुपर्ने बताउए ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायहरु मार्फत सम्पादन भैरहेका पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यहरुको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी कार्यहरु अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुने भएको छ ।

    त्यसैगरी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको चालु र पुँजीगत खर्चको आर्थिक बर्ष २०७८/७९ को एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखा परीक्षण सम्बन्धी कार्यको जिम्मेवारी पनि यसै प्राधिकरणलाई दिइएको छ ।

    यसका साथै विश्व बैँकसँगको सम्झौता बमोजिम कार्यान्वयन भैरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडिटिएफसँग सम्बन्धित प्राविधिक सहयोग, शाेधभर्ना र प्रतिवेदन सम्बन्धी कार्य पनि अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेर्नेछ ।

    हाल पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी संग्रहालय अन्तर्गतको रणोद्विप दरबारको भौतिक निर्माणको कार्य शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ भने पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी काठमाडौँ महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरेको छ ।

    केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन), केन्द्रीय आयोजना कार्यन्वयन इकाई (शिक्षा) र केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) अन्तर्गत सम्बन्धित श्रेष्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा भदौ अन्तिम साता हस्तान्तरण भइसकेको छ।

    गत मंसिर २१ देखि २३ गतेसम्म भौतिक एवं विद्युतीय माध्यमबाट काठमाडौँमा सम्पन्न भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ कोभिड–१९ को महामारीका बीचमा समेत अत्यन्त सफलतापूर्वक सम्पन्न भएकोमा बैठकले सन्तोष व्यक्त गरेको छ ।

    सम्मेलनमा भौतिक रुपमा उपस्थित भएर वा विद्युतीय माध्ययमबाट सम्बोधन गर्नु भएका विभिन्न मुलुकका विदेशमन्त्री, मन्त्री, उपमन्त्री लगायतका प्रतिनिधिहरु तथा विभिन्न द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायका विशिष्ट पदाधिकारी तथा प्रतिनिधिहरुलाई बैठकले धन्यवाद समेत दिएको छ ।

    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसमेतको उपस्थिति थियो । त्यसैगरी, उक्त बैठकमा मुख्यसचिव शंकरदास बैरागी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, पुनर्निर्माण प्राधिकरण एवं विभिन्न मन्त्रालयका सचिवहरु, निर्देशक समितिका सदस्यहरु, प्राधिकरणका कार्यकारी समिति सदस्यहरु लगायतको उपस्थिति थियो ।

    भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा ३९३० को व्यवस्था तथा सो अनुरुप नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ मंसिर १५ गतेको निर्णय अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल यही पुस ९ गतेबाट सकिँदै छ ।


    images
    images

    Logo