काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा ५ महिनादेखिको आन्दोलन स्थगित भएको छ । कोषबाट बिना जानकारी निष्कासित गरिएका ६६ जना कर्मचारीलाई हाजिरी भइ नियमित काममा फर्काउने सहमति भएसँगै साउन १ गतेदेखि चल्दै आएको आन्दोलन स्थगित भएको हो ।
पशुपति क्षेत्र विकास कोषले सो क्षेत्रको सरसफाई तथा निर्माण पुनर्निर्माण कार्यका लागि वर्षौं अघिदेखि श्रमिकहरुले काम गर्दै आएका थिए । करार सेवामा नियुक्त भएका ती कर्मचारीको प्रत्येक वर्ष करार नवीकरण हुँदै आएको थियो । यस्ता कर्मचारीमा सहयोगी स्तरदेखि इन्जिनियरसम्मका कर्मचारी छन् ।
अघिल्लो वर्ष माघ १४ गते कोषको परिषद्ले ती कर्मचारीलाई अर्को निर्णय नभएसम्मका लागि कायम राख्नेगरी निर्णय गरेको थियो। तर, साउन १ गते कोषले ती कर्मचारीहरुलाई सम्झौता अवधि सकिएको भन्दै हाजिर हुन दिएको थिएन ।
मंगलबार एकीकृत ट्रेड युनियन महासंघ र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिबीचको वार्ता भइ उनीहरुलाई नियमित काममा हाजिरी गराउने र श्रेणी तहका कर्मचारीलाई कार्यसम्पादनको निर्णय परिषद बैठकबाट अनुमोदन गरी नियमित हाजिरी गर्ने लिखित सहमति भएको छ ।
सम्झौतामा पशुपति क्षेत्र बिकास कोषको तर्फबाट सदस्य सचिव मिलनकुमार थापा र श्रमिकको तर्फबाट एकीकृत ट्रेड युनियन महासंघका महासचिव दीपक पौडेलले हस्ताक्षर गरेका छन् ।
आन्दोलन स्थगित गराउने सम्बन्धमा यसअघि पर्यटनमन्त्री प्रेम आलेले चासो देखाएका थिए । उनले वर्षौंदेखि काम गर्दै आएका कर्मचारीहरुलाई कोभिडको समयमा निष्कासन गर्न नहुने भन्दै समस्या समाधान गर्न कोषका सदस्य सचिवलाई निर्देशन समेत दिएका थिए ।



