images
images

उर्जा मन्त्री भुषालद्वारा क्षत्रपाटी निःशुल्क चिकित्सालयको अक्सिजन प्लान्ट उद्घाटन


  • 430
    SHARES
  • २०७८ पौष ३ गते शनिबार

    उर्जा मन्त्री भुषालद्वारा क्षत्रपाटी निःशुल्क चिकित्सालयको अक्सिजन प्लान्ट उद्घाटन

    काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले शनिबार विहान काठमाडौंमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेकी छिन् । 

    दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाईटेड नेवा, आईओएनलगायतका दर्जनबढि संस्था तथा व्यक्तिको सहयोगमा मध्य काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको दैनिक एक सय सिलिण्डर क्षमताको अक्सिजन प्लान्टको आज औपचारिक उ्दघाटन गरिएको हो । 

    क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मन्त्री भुसालले १ करोड ४५ लाख लागतमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गर्दै बढ्दो कोरोना महामारीका विरुद्धमा लड्न थप मद्दत मिल्ने विश्वास व्यक्त गरिन् । मन्त्री भुसालले नयाँ नयाँ भाइरसको प्रभाव विश्वका अन्यत्र बढिरहेको सन्दर्भमा नेपालमा पूर्व तयारी आवश्यक रहेको बताउँदै उक्त अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् । 
     
    अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री भुसालले क्षत्रपाटी निःशुल्क चिकित्सालयले शहरी क्षेत्रको बीचमा रहेर न्यून आय भएका, गरिब, असहाय जनताको सेवामा समर्पणको उच्च सम्मान गर्दै सरकारले अस्पताललाई थप सहयोग गर्दै अघि बढ्ने जानकारी दिईन् । मन्त्री भुसालले निःशुल्क चिकित्सालयलाई सरकारले निःशुल्क विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै प्रक्रिया अघि बढाउने आश्वासन दिएकी छिन् । 

    मन्त्री भुसालले यही मंसिर १ गतेदेखि देशैभरिका गरिब जनता, जसले मासिक २० युनिट विद्युत खपत गर्दैनन्, उनीहरुलाई विद्युत निःशुल्क उपलब्ध गराइएको जनाउँदै सरकार लोककल्यलाणकारी अवधारणाबाट अघि बढेको प्रष्ट पारिन । कार्यक्रममा काठमाडौंका अध्यक्ष नविन मानन्धरले अस्पतालले २०७२ सालको भुकम्प र हालको कोडिभ महामारीमा उल्लेख्य भूमिका खेलेको बताउँदै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको बताए । 

    कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धरले दैनिक १ सय सिलिण्डर अक्सिजन उत्पादन हुने, स्वचालित पाइपमार्फत सिधैं अस्पतालको बेडहरुमा पुग्ने अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको जानकारी दिँदै छिट्टै उक्त प्लान्टबाट अक्सिजन सिलिण्डरमा भर्ने व्यवस्था हुने बताए । 

    कार्यक्रममा अक्सिजन प्लान्टका लागि सहयोग गर्ने मुख्य दातृ संस्था दया फाउण्डेशनका संस्थापक सदस्य कीपा माथेमाले क्षत्रपाटी निःशुल्क चिकित्सालयले शहरी क्षेत्रका जनताको स्वास्थ्य उपचारमा पु¥याइरहेको सहयोगमा थप बल पुर्याउन अक्सिजन प्लान्टको लागि सहयोग संकलन गर्ने अभियानको नेतृत्व गरेको जानकारी दिईन् । 

    कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सबै दाताहरुको सामूहिक भावनाको कारण अक्सिजन प्लान्ट जडान गर्न सम्भव भएको जानकारी दिए । अध्यक्ष श्रेष्ठले नयाँ बन्दै गरेको भवनका लागि समेत अक्सिजनको अभाव नहुने गरी व्यवस्थापन गरिएको जानकारी दिए । साथै अध्यक्ष श्रेष्ठले उक्त अक्सिजन प्लान्टले अस्पताल अक्सिजनमा आत्म निर्भर भएको बताउँदै आगामी दिनमा निःसहाय, गरिब र न्यून आय भएका जनताको सेवामा अझै दृढ भएर समर्पित हुने प्रतिबद्धता जनाएका छन् । 

    कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयले यही पुष १ गतेबाट शनिबारका दिनमा समेत ओपिडी सेवा सञ्चालन गर्न सुरु गरिएको जानकारी दिएको छ । अस्पतालले सामान्य शल्यक्रिया समेत गर्दै आएकोमा अब विशेष प्रकारको शल्यक्रिया सेवा समेत थप गर्दै अघि बढ्ने तयारी गरिरहेको जनाएको छ । 

    अस्पतालका अनुसार अक्सिजन प्लान्ट स्थापनाको लागि युनाईटेड नेवा नामक संस्थाले १५ लाख, आईओएनले २० लाख, नेपाल परिवार जर्मनले पाँच लाख, एनआरटी क्लवले पाँच लाख, ढल्को परिवारले तीन लाख, हातेमालो बनस्थलीले पाँच लाख रुपैयाँ सहयोग गरेका थिए । 


    images
    images

    Logo