काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारीमा शेरबहादुर देउवा समूहको बहुमत देखिएको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वाचनको मतपरिणाम आउँदा १३ जना पदाधिकारीमध्ये ८ जना देउवा पक्षबाट चुनिएका हुन् ।
सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुँदा उपसभापतिमा देउवा पक्षका पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । अर्का उपसभापति धनराज गुरुङ भने शेखर कोइराला पक्षका हुन् ।
महामन्त्रीमा भने देउवा पक्षबाट उठेका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् । सर्वाधिक मत ल्याउने गगन थापा शेखर कोइराला समूहका उम्मेदवार हुन् । आफ्नै पक्षका भए पनि अन्तिम समयमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका विश्वप्रकाश शर्मा अर्का महामन्त्री बने । यद्यपि देउवा र विश्वप्रकाशको निकटता अहिले पनि छ ।
उता सहमहामन्त्रीमा भने देउवा समूहको बहुमत देखियो । महिला कोटाबाट निर्वाचित महालक्ष्मी उपाध्याय डिना, खस आर्य समूहबाट निर्वाचित किशोरसिंह राठौर, मधेशी कोटाबाट निर्वाचित महेन्द्र यादव, मुस्लिम कोटाबाट निर्वाचित फरमुल्लाह मन्सुर र आदिवासी जनजातितर्फबाट जितेका भिष्मराज आङ्देम्बे देउवा समूहका हुन् । त्यस्तै, थारु कोटाबाट निर्वाचित समूहका भएर पनि देउवा प्यानलबाटै प्रतिस्पर्धा गरेका उम्मेदवार हुन् ।
बाँकी ३ जनामध्ये दलित कोटाको सहमहामन्त्री जितेका जीवन परियार, पिछडिएको समूहबाट बद्री पाण्डे मात्रै कोइराला समूहका हुन् ।
निर्वाचित हुने केन्द्रीय सदस्यबाट सभापतिले एकजना कोषाध्यक्ष नियुक्त गर्ने व्यवस्था छ। कोषाध्यक्षको हैसियत पनि पदाधिकारीकै बराबर हुनेछ ।



