काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले चार क्रिकेटरमाथि गरेको कारबाहीको विपक्षमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) देखिएका छन् । शुक्रबार क्यानका पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाही निर्णयमा पुनर्विचार गर्न निर्देशन दिएका हुन् ।
क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताए । क्यान र खेलाडी बिच देखिएको समस्या समाधानकालागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री अथकले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता व्यक्त गरे ।
आगामी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिएका छन् । त्यसक्रममा मन्त्री अथकले खेलाडीहरुको वर्गीकरण प्रक्रियाका बिषयमा समेत चासो लिएका थिए ।
गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो ।



