काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा निक्षेप (सीडी) रेसियो घटाउने कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएको छ । बिहीबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्तलाई यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका क्रममा यस्तो व्यवस्था गर्ने नीति लिएको थियो । यसलाई कार्यान्वयन गर्न यस्तो नीति लिइएको हो ।
अहिले अधिकांश बैंकहरुको सीडी अनुपात ९० प्रतिशत भन्दा धेरै छ । केही बैंकको सीडी अनुपात त १०० प्रतिशत नजिक पुगेको छ । राष्ट्र बैंकले असार मसान्तसम्म यस्तो अनुपातलाई ९० प्रतिशतमा झारिसक्न भनेको छ ।
तर, बैंकहरुले यसलाई घटाउनुको सट्टा झनै बढाएपछि मौद्रिक नीतिको समीक्षामा घटाउने कार्ययोजना प्रस्तुत गर्ने नीतिगत व्यवस्था गरेको थियो ।
अहिले राष्ट्र बैंकले सीसीडी अनुपात खारेज गरेको छ । सीडी अनुपात लागु भइ नसकेको यो अवस्थामा बैंकहरुले जथाभावी कर्जा प्रवाह गरेपछि राष्ट्र बैंक कडा रुपमा प्रस्तुत भएको हो । गत एक वर्षमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा २८ प्रतिशत भन्दा धेरैले बढेको छ ।



