काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिको छनौटका लागि दोस्रो चरणको निर्वाचन हुने निश्चितजस्तै भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याउने देखिएपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
अहिले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सभापतिको मतगणना चलिरहेको छ । मतगणना अनुसार सभापतिका लागि कुल ४ हजार ६ सय ७९ मत खसेको छ । सभापतिमा निर्वाचित हुन २ हजार ३ सय ५० मत ल्याउनुपर्छ ।
अहिलेसम्म ४१७४ मत गन्दा शेरबहादुर देउवाको पक्षमा १९९५, शेखर कोइरालालको पक्षमा १५४२, प्रकाशमान सिंहको पक्षमा २८६ र विमलेन्द्र निधिको पक्षमा २०१ र कल्याण गुरुङको पक्षमा १९ मत आएको छ ।
मतगणनाको सुरुदेखि नै देउवा अगाडि भए पनि अन्तिम चरणसम्म देउवाले बहुमत कटाएका छैनन् । पछिल्लो ५ सय मतमा कायापलट नभए अब दोस्रो चरणमा मात्रै सभापतिको टुंगो लाग्नेछ ।
देउवाले पहिलो चरणमै सभापति जित्न ५ सयमध्ये ३ सय ५० भन्दा बढी मत ल्याउनुपर्छ । कोइरालाले भने सबै मत ल्याए पनि जीतका लागि पर्याप्त हुँदैन ।



