काठमाडौं । संघीय संसदको बैठक मंगलबार (भोलि) बस्दैछ । चालु संसदको दशौं अधिवेशन भोलि दिउँसो २ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
भोलिको बैठका लागि सचिवालयले ५ सम्भावित कार्यसुची तय गरेको छ । सचिवालयका अनुसार राष्ट्रपतिले पठाएको संसद आव्हानसम्बन्धी पत्र पढेर सुनाउने, अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन र विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची तय भएको छ ।
गृहमन्त्री वालकृष्ण खाँणले तीनवटा अध्यादेश पेश गर्नेछन् । गृहमन्त्री खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गर्नेछन् ।
त्यस्तै भौतिक पुर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्व अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।
भोलिको बैठकमा विवादास्पत एमसीसी सम्झौताको सम्बन्धमा भने कुनै छलफल राखिएको छैन । अमेरिकाले नेपाललाई भोलिसम्म एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न अल्टिमेटम दिएको थियो ।



