images
images

विश्लेषण

काँग्रेस महाधिवेशन : सभापतिमा देउवा दोहोरिन  सक्ने यी हुन् ५ आधार 


  • 646
    SHARES
  • २०७८ मंसिर २६ गते आइतबार

    काँग्रेस महाधिवेशन : सभापतिमा देउवा दोहोरिन  सक्ने यी हुन् ५ आधार 

    काठमाडौं । देशकै सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस यतिबेला नयाँ नेतृत्वको संघारमा छ । पार्टीको सबै केन्द्रीय तहका लागि सोमबार बिहान ८ बजेदेखि निर्वाचन हुँदैछ । 

    नेपाली काँग्रेसको विधान अनुसार कुल सभापति, उपसभापति (२), महामन्त्री (२), सहमहामन्त्री (८) जना सहित कुल १३ जना पदाधिकारी तथा खुला तथा समावेशी समूह अन्तर्गत कुल १ सय २१ जना केन्द्रीय सदस्य सहित जम्मा १ सय ३४ जनाको केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । यही अनुसार विभिन्न उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । 

    शनिबार उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्म कुल ५ सय ४८ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकोमा आइतबार झन्डै ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । त्यसमध्ये अधिकांशले आफ्नो समर्थन अन्य कुनै उम्मेदवारलाई घोषणा गरेका छन् । 

    यतिबेला काँग्रेसमा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङले सभापतिको उम्मेदवारी दर्ता गराउँदा देउवा र कोइरालाको प्यानलमा मात्रै पदाधिकारीको संख्याले पूर्णता पाएको छ । अन्य उम्मेदवारले भने केही पदाधिकारीका लागि मात्रै उम्मेदवारी दिएका छन् । 

    उम्मेदवारको संख्या बढ्दै गर्दा पदाधिकारीहरुमा कसले बाजी मार्ला भन्ने अड्कलबाजी भइरहेका छन् । तर, सबैभन्दा धेरै चासो चाहिँ केन्द्रीय सभापति को बन्ला भन्नेमै छ । काँग्रेसको विधानले सभापतिलाई निकै शक्तिशाली बनाएको छ । सभापतिबिना अरु सबै पदाधिकारीले पनि केही गर्न नसक्ने भएका कारण अहिले मुख्य रुपमा सभापति नै को बन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ । 

    अहिले सभापतिका लागि शेरबहादुर देउवा कि शेखर कोइराला आँकलन सुरु भएको छ । यसतसम्म कि सभापतिको दाबेदार रहेका विमलेन्द्र निधिले नै चुनाव दोस्रो चरणमा जाने र यस क्रममा देउवा र कोइरालाबीच नै प्रतिस्पर्धा हुने बताइसकेका छन् । त्यसो त, पलाधिकारीमा समेत पूर्णरुपमा  प्यानल बनाउन नसक्ने प्रकाशमान, विमलेन्द्र, कल्याण र युवराजले सभापति जित्ने आँकलन कसैले पनि गरेका छैनन् । 

    त्यसैले अहिले नयाँ सभापतिमा शेरबहादुर देउवा कि शेखर कोइराला भन्नेमा बहस हुन थालेको छ । तर, यी ५ आधारले आगामी नेतृत्वमा देउवाकै पल्लाभारीको अवस्था देखाउँछ । 

    १. सिटौला पक्षको बलियो समर्थन

    १३ औं महाधिवेशनमा तात्कालिन संस्थापन पक्षको रुपमा उम्मेदवार बनेका रामचन्द्र पौडेल र संस्थापनइतर पक्षमा उम्मेदवार बनेका शेरबहादुर देउवाबीच दोस्रो चरणको निर्वाचनमा सभापतिको टुंगो लागेको थियो । दोस्रो चरणमा नेता कृष्णप्रसाद सिटौलाले देउवालाई सघाएपछि देउवाले ५८ः४२ को अनुपातमा पौडेललाई हराएका थिए । 

    अहिले पनि सिटौला पक्ष संस्थापन (देउवा) समूहमै छ । सोही समूह अन्तर्गत महामन्त्रीमा प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसमा कृष्णप्रसाद सिटौलालाई किङ मेकरको रुपमा लिइन्छ । तुलनात्मक रुपमा थोरै संगठन भए पनि सिटौलाले जता समर्थन गर्छन् उतै जित हुन्छ भन्ने आम मान्यता स्थापित भइसकेको छ । 

    सिटौलाको दह्रो समर्थन यतिबेला देउवालाई छ । सिटौलाले देउवाकै टीमबाट महामन्त्रीको उम्मेदवार उठाएका मात्रै छैनन् । प्रदेश नं १ को सभापतिमा गुरुराज घिमिरेलाई हराएर निकै जुनियर मानिने उद्दव थापालाई विजय गराउन सफल समेत भएका छन् । अघिल्लो महाधिवेशनको अंकगणित र अहिलेको अवस्थालाई विश्लेषण गरेर अबको सभापतिमा देउवा नै आउने विश्लेषण गर्नेको संख्या ठूलो छ । 

    २. प्रदेश र जिल्लामा उत्साहजनक नतिजा

    अहिले जिल्ला र प्रदेशको राजनीतिलाई हेर्ने हो भने पनि यसले देउवा पक्षकै पल्लाभारी हुने अवस्था देखाउँछ । हालसम्म ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न भएकोमा वाग्मती, कर्णाली र सुदूरपीश्चम प्रदेशमा देउवा प्यानलका सभापति बनेका छन् भने प्रदेश १ मा देउवा समूहकै समर्थनमा सिटौला समूहका सभापति बनेका छन् । 

    त्यस्तै ६१ जिल्लाको प्रदेश अधिवेशनमा ३२ जिल्लामा देउवाको नेतृत्व स्थापित भएको छ । बाँकी रहेका २९ जिल्लामध्ये पौडेल समूहबाट २६ र सिटौला समूहबाट ३ जना सभापति आएका छन् । सिटौलाको समर्थन समेत प्राप्त गर्दा ३५ जिल्लामा देउवाको तेतृत्व स्थापित भएको छ । यसलाई आफ्नो जीतको पूर्व सुनिश्चितताको रुपमा यो समूहले लिएको छ । 

    ३. छिन्नभिन्न बनेको गैर संस्थापन पक्ष

    देउवा प्यानलले जित्ने विश्वास गरेको अर्को महत्वपूर्ण कारण भनेको गैरसंस्थापन पक्षको छिन्नभिन्न अवस्था हो । एक भएर उम्मेदवारी नदिए संस्थापन पक्षलाई हराउन नसक्ने भन्दै एकल उम्मेदवार बनाउने रामचन्द्र पौडेलको प्रयास असफल भएपछि यतिबेला सो पक्ष छिन्नभिन्न भएको छ ।

    एकातर्फ शेखर कोइरालाले उम्मेदवारी दिएका छन् भने अर्कोतर्फ प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् । काठमाडौं उपत्यका र बाहिरका जिल्लामा समेत राम्रो उपस्थिति भएका प्रकाशमानले छुट्टै उम्मेदवारी दर्ता गरेपछि सो पक्ष कमजोर भएको टिप्पणी गर्न थालिएको छ । 

    त्यतिमात्रै होइन, शेखर कोइरालाको उम्मेदवारी घोषणा सभामा रामचन्द्र पौडेल र सशांक कोइराला दुवैजना नआउनु र सुजाता कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिनुले पनि शेखर कोइराला एक्लिएको हुनसक्ने विश्लेषण हुन थालेको छ । 

    आफ्नो पक्षबाट साझा उम्मेदवार दिन असफल भएपछि यतिबेला गैरसंस्थापन पक्षको नेतृत्व गरेका रामचन्द्र पौडेल समेत शेखर र प्रकाशमानप्रति निराश भएका छन् । दुईमध्इे एकजना निर्वाचित नै भए पनि सो समूह एक हुने अवस्था नभएपछि काँग्रेसको भविष्यको लागि देउवाकै नेतृत्व ठीक छ भन्ने अवस्थामा पौडेल पुगेका छन् । निकटवर्तीहरुसँगको भेटमा उनले यही बताउन थालेको बताइन्छ । यसले देउवा समूहलाई थप उत्साहित बनाएको छ । 

    ४. कमजोर आधार भएको शेखरको राजनीति

    त्यसो त काँग्रेसमा शेखर कोइरालाको प्रवेश नै एउटा विवादास्पद विषय बनेको छ । काँग्रेसमा केन्द्रीय सदस्य हुन पछिल्लो १५ वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने व्यवस्था छ । तर, कोइरालाले क्रियाशील सदस्यता लिएको १५ वर्ष नै नभएको आवास समेत काँग्रेसवृत्तमा उठ्दै आएको छ । 

    त्यसो त, कोइराला आफैंमा काँग्रेस राजनीतिमा परिपक्व नेता होइनन् । उनीसँग काँग्रेसको पदाधिकारीको हैसियतमा रहेर काम गरेको अनुभव पनि छैन ।

    अघिल्लो पटक केन्द्रीय समितिमा उनी ३४ औं वरियताका केन्द्रीय सदस्य थिए । कोइराला परिवारको विरासत तथा सशांकको दाइको हैसियतमा मात्रै उनी सभापतिको उम्मेदवार बनेका हुन् । 

    काँग्रेसमा राजनीति गरेर महाधिवेशन प्रतिनिधिसम्म भएका पार्टीभित्रको योगदानलाई सजिलै बुझ्न सक्ने भएकोले पनि यसपटक प्रतिनिधिको रोजाइमा देउवानै पर्ने विश्लेषण उनीनिकट कार्यकर्ताको छ । 

    ५. देउवाको पछिल्लो राजनीतिक कुशलता

    संविधानको संरक्षण र निरंशकुशताको अन्त्यका लागि पछिल्लो समय देउवाले देखाएको कुशलताको कारणले पनि यतिबेला देउवाप्रति झुकाव राख्नेको संख्या बढेको छ । जनाधार बलियो भएर पनि संघीय संसद तथा प्रदेशहरुमा समेत निकै कमजो रहेको नेपाली काँग्रेसलाई संघीय सरकारको नेतृत्व र सातवटै प्रदेशमा सत्ता साझेदारीको हैसियतमा पुगेको छ । देउवाकै कार्यकुशलताले यो सफल भएकोमा काँग्रसभित्र एकमतजस्तै छ । पछिल्लो समय सो पक्षले यसलाई आफ्नो जीतको प्रमुख आधार समेत मानेको छ । 

    उद्घाटन सत्रमा सम्बोधनका क्रममा देउवा आफैंले पनि काँग्रेसले देशको संविधान र लोकतन्त्रलाई जोगाएर सरकारको नेतृत्व गर्न सफल भएकोले यसलाई संस्थागत तुल्याउन एकपटक फेरि आफूलाई जिताउन आग्रह गरेका थिए । 


    images
    images

    Logo