काठमाडौं । शेयर बजारमा आज पनि भारी अंकको गिरावट आएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूकच नेप्से ८८.७० अंकले घटेर २ हजार ३ सय ६१ दशमलव २७ अंकमा झरेको हो । आज बजार उच्च अंकले घट्दा कारोबार रकममा भने केही सुधार भएर ३ अर्ब १२ करोड रुपैयाँमा पुगेको छ ।
आइतबार कायम भएको सो परिसूचक ११ महिनाकै सबैभन्दा कम हो । अघिल्लो वर्ष माघ ८ गते शेयर बजार परिसूचक २ हजार ३ सय ४२ दशमलव ७७ विन्दुमा थियो । त्यसको भोलिपल्ट बजार बढेर २ हजार ३ सय ७४ दशमलव ६४ विन्दुमा पुगेको थियो । योबीचमा बजार परिसूचक ३ हजार २ सय विन्दुसम्म पुगेर फर्किएको छ । आजको अन्तिम कारोबारसँगै बजार योभन्दा तल झरेको छ ।
आज बजारमा व्यापारमूलक कम्पनी तथा विकास बैंक समुह सबैभन्दा बढी प्यानिक बन्यो । व्यापारमूलक समूहमा ७.२६ प्रतिशत तथा विकास बैंक समूहमा ६.२७ प्रतिशतको गिरावट आउँदा म्युचुअल फण्ड समूहमा भने १.३६ प्रतिशत मात्रै गिरावट आएको छ ।
बजारको उच्च गिरावटका बाबजुद आज बजारका ६६ कम्पनीको शेयरमूल्य बढेका छन् । १ सय १४ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य स्थिर रहेको छ । मञ्जुश्री फाइनान्स र नारायणी विकास बैंक आज सर्वाधिक कमाउने कम्पनी बनेका छन् । नयाँ सारथी, लक्ष्मी इक्विटी, नेपाल हाइड्रो जस्ता कम्पनीहरु सर्वाधिक गुमाउनेको सूचीमा अगाडि छन् ।



