काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार तीन हजार १ सय ९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । त्यस यता शेयर बजार निरन्तर घट्दो क्रममा छ । नेप्से घट्दै बिहीबार २ हजार ४ सय ४९ दशमलव ९७ बिन्दुमा कारोबार बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कानुसार कारोबार मापक नेप्सेका साथै कारोबार रकम पनि निरन्तर ओरालो लागेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो कारोबार दिन साउन ३ गते २ हजार ९ सय ८० दशमलव ६१ बिन्दुमा बन्द भएको कारोबार भदौ पहिलो साता उच्च बिन्दु छोएर निरन्तर घटिरहेको छ ।
उच्च बिन्दुबाट बजार २३ प्रतिशतभन्दा बढीले घट्दा लगानीकर्ताको १० खर्ब रुपैयाँ बढीकोे सम्पत्ति गुमेको छ । नेप्से परिसूचक उच्चतम हुँदा ४४ खर्ब ६८ अर्बको बजार पुँजीकरण बिहीबारको कारोबार पछि ३४ खर्ब ४४ अर्ब रुपैयाँमा खुम्चिएको छ । परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको देखिन्छ । गत साउन ३१ गते दैनिक कारोबार रकम २१ अर्ब रुपैयाँ भन्दा बढी भएकामा बिहीबार २ अर्ब ६७ करोड रुपैयाँमा सिमित हुन पुगेको छ ।
शेयर बजारमा नेप्सेका साथै कारोबार घट्दा लगानीकर्तामा निरासा छाएको छ । अझ नयाँ लगानिकर्ता अन्योलमा रहेको देखिन्छ । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन् । बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ ।
साना लगानीकर्ता डरमा, ठूला पर्ख र हेरको अवस्थामा
सिडिएस एण्ड क्लियरिङका अनुसार धितोपत्र कारोबार गर्न आवश्यक डिम्याट खाता खोल्नेको सङ्ख्या ४७ लाख नाघिसकेको छ भने मेरो शेयर प्रयोगकर्ता ३८ लाखभन्दा बढी छन् । ४७ लाख लगानिकर्तामध्ये सङ्ख्याका आधारमा साना लगानीकर्ताको अत्याधिक बृद्धि भएको देखिन्छ । गएको एक वर्षको अवधिमा चिया पसलदेखि कार्यालयको बैठकको समयमा समेत पूँजीबजारका बारेमा बहस चल्न थालेको अवस्था छ ।
हाल गृहणी र महिला लगानिकर्ताको सङ्ख्यासमेत बढेको छ, सानोसानो पूँजी जम्मा भएर नै दैनिक कारोबार करिब २२ अर्ब रुपैयाँ पुगेको थियो । त्यस्ता साना र नयाँ शेयर लगानीकर्ताको लगानीको सुरक्षामा सरकार तथा नियामक विशेषरुपमा सजग हुनुपर्ने रहेको छ ।
घटेको बजारमा साना र त्यसमाथि नयाँ लगानीकर्ताको सम्पत्ति घट्दै जाँदा उनीहरुमा डर देखिएको स्वयं लगानिकर्ता स्वीकार्छन् । यस्तोमा बजार घट्नेमात्र नभई राम्रा प्रतिफल दिने कम्पनीमा गरेको लगानीमा डराउन नहुने र शेयर बजारमा लगानी गर्दा धै¥र्यता राख्नुपर्नेमा लगानीकर्ता छोटेलाल रौनियारको जोड छ ।
“बजार विस्तार भएको छ, कारोबार प्रविधिमैत्री हुँदैछ, डिम्याट र मेरो शेयरका साथै शेयर कारोबार गर्न टिएमएसको प्रयोगकर्ता दिनदिनै बढेको अवस्था छ, यसले बजारमा सकारात्मक प्रभाव पारेको र अझ यसको विकास तथा दिगोपनाका लागि नियामकले लगानिकर्ताको हितलाई ध्यान दिएर नीति बनाएर बजारको नियमन गर्ने वातावरण बने बजारको भविष्य राम्रो रहेको छ”, शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा रौनियारले आफ्ना धारणा राखे । उनले बजारमा राम्रो सम्भावना रहेको र पूँजी बजारको विकास तथा विस्तारमा सबै लगानिकर्ता एकजुट भएर बजार अनुकूल हुँदा आवेशमा नआउन र प्रतिकूल हुँदा धै¥र्यता अपनाउन आवश्यक हुने बताए ।



