काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई २०२७ सालदेखि नै अदालतबाट मुद्दा हार्ने बानी परेको बताएका छन् । २०२७ सालमा अनेरास्ववियु खोल्न नदिने मुद्दादेखि २०७८ सालमा प्रधानमन्त्री नियुक्तिको मुद्दासम्म आफूले अदालतबाट कहिलै न्याय नपाएको उनले दुखेसो गरे ।
‘आफू अन्याय गर्दै गर्दै गर्दिन, मुद्दा कहिलै जितिँदैन,’ ओलीले भने, ‘अदालतलाई शुद्धीकरण गर्नुपर्छ भन्ने तपाइँहरुको माग ठीकै हो । तर त्यसलाई पूर्णता दिनेगरी अघि बढ्नुस् ।'
मंगलबार नेपाल बार एशोसिएसनका पदाधिकारीहरु सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्ध महाअभियोग लगाउन भन्दै ओलीसँग वार्ताका लागि गएका थिए । सो क्रममा ओलीले आफू प्रधानन्यायाधीशको पक्ष वा विपक्षमा नरहेको भन्दै समग्र न्यायालयको शुद्धीकरणका लागि भने बारलाई सहयोग गर्ने बताए ।



