काठमाडौं । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली बस्तुको निर्यातमा उलेख्य वृद्धी भएको छ ।
गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली बस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धी भएको हो । आर्थिक वर्ष २०७७/७८को साउनदेखी कात्तिकसम्मको चार महिनामा वीरगन्ज नाका प्रयोग गरी १२ अर्ब ४४ करोड रुपैयाँ मूल्य बराबरका विभिन्न बस्तु निवासी भएकामा चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ३९ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ बराबरको विभिन्न बस्तु निकासी भएको छ ।
विश्व स्तरमै कोरोनाको सङ्क्रमण घटदै गएपछि उद्योग व्यपारमा पनि सहजता भएकाले भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली बस्तुको निर्यामा वृद्धि देखिएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली बस्तुको निर्यातमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सुर्यमुखीको प्रशोधित तेल, भटमासको पिना, जडिबुटीलगायत बस्तु रहेको बताए ।
नेपाली बस्तुको निर्यात वृद्धिसंगै यसको प्रभाव राजश्व सङ्कलनमा समेत देखिएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कार्यालयले २६ अर्ब रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा उक्त कार्यालयले ४३ अर्ब ६७ करोड २६ लाख रुपैयाँ राजश्व सङ्कलन गरेकामा ।चालु आर्थिक वर्षमा २६ अर्ब ४४करोड ८८ लाख बढी अर्थात ७० अर्ब १२ करोड १४ लाख राजश्स सङ्कलन गर्न सफल भएको छ । साठी दशमलव ५६ प्रतिशतले बढी हो ।



