images
images

चितवनमा २१ करोड लागतको खानेपानी आयोजना बन्दै


  • 434
    SHARES
  • २०७८ मंसिर १८ गते शनिबार

    चितवनमा २१ करोड लागतको खानेपानी आयोजना बन्दै

    चितवन । भरतपुर महानगरपालिका–२६ स्थित दिव्यनगर खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आज  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको शिलान्यास गरेका हुन् । 

    आयोजनाको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले देशमा चितवनले विकासको मोडेल प्रस्तुत गरेको उल्लेख गर्दै धमाधम आयोजना शिलान्यास भइरहेको बताए। चितवनमा हुने आर्थिक विकास राष्ट्रियरूपमा अध्ययन गर्ने विषय हुनुपर्ने उनको भनाइ थियो । जिल्लाको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट करोडौँ बजेट विनियोजन भएको दाहालले जानकारी दिए ।

    २० करोड ९८ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनाका लागि सरकारको ९० प्रतिशत र उपभोक्ताको १० प्रतिशत लगानी रहनेछ । आयोजना निर्माण गर्ने जिम्मा भीमेश्वर डिलिङ तथा निर्माण सेवाले पाएको छ ।

    सम्झौताअनुसार आयोजनामा ४ सय ५० घनमिटरको एउटा ओभरहेड ट्यांकी, कार्यालय भवन, गार्ड हाउस, १२६ किमी पाइप जडान, एक हजार ८५५ धारा जडान आगामी २०८० असार ७ गतेभित्रमा सम्पन्न गर्नुपर्ने दिव्यनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तुलाराम आचार्यले जानकारी दिए ।  

    कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा तीव्र विकास भइरहेको उल्लेख गर्दै कालोपत्र र ग्राभेलमा कायापलट गरेको जिकिर गरिन् । उनले महानगरको एक मात्र उद्देश्य विकास निर्माण रहेकाले आवश्यकताका आधारमा हरेक क्षेत्रमा बजेट विनियोजन गरेको बताइन् ।

    भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले दिव्यनगर खानेपानी आयोजना निर्माणपछि एक हजार ८ सय ५५ घरधुरीले शुद्ध खानेपानी पाउने बताए । धेरै समयको मेहेनतपछि आयोजना शिलान्यास भएको भन्दै उनले खुशी व्यक्त गरे।


    images
    images

    Logo