काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पत्रकारलाई आफ्नै शुभेच्छुक पार्टीका नेताको आलोचना गर्ने छुट रहेको बताएका छन् । मंगलबार ललितपुर प्रेस सेन्टरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले गल्ती गर्ने पार्टीको मान्छेलाई आलोचना गर्न पत्रकारहरु डराउन नहुने बताएका हुन् ।
‘प्रेस सेन्टर पार्टीसँग सम्बन्धित संगठन होला, तर पार्टीको मान्छेले गल्ती गर्दा उसको आलोचना गर्ने छुट तपाईँहरूसँग छ’, उनले भने, ‘त्यसकारण तपाईँहरू आफ्नो विचार राख्ने कुरामा स्वतन्त्र हुनुहुन्छ ।’ शर्माले सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने बताए । पत्रकारहरूले पत्रकार सहकारी बनाएर जान सक्ने उनको भनाइ थियो ।
पत्रकारिता मात्र पूर्ण पेसा नभएर अरू हिसाबले पनि आत्मनिर्भर हुनका लागि पत्रकारहरूको सहकारी समूह बनाएर तपाईँहरू सञ्चालन गर्न सक्नुहुन्छ’, उनले भने, ‘एकातिर आत्मनिर्भर हुँदै पनि जाने र सामुदायिक शक्ति तथा क्षमतालाई पनि विकास गर्दै जाने गर्न सक्नुहुन्छ ।’
प्रेस सेन्टरको अधिवेशन अन्तर्गत यतिबेला जिल्ला तहका अधिवेशन चलिरहेका छन् । यस अन्तर्गत आज ललितपुरको अधिवेशन गरिएको हो ।



