काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा जारी आन्दोलनको नेतृत्व नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले लिएको छ । मंगलबार संस्थाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रम मार्फत् फियनले आन्दोलनको नेतृत्व लिने जनाएको हो ।
यसअघि व्यवस्थापनसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै फियन आवद्ध स्वावलम्बन लघुवित्त कर्मचारी संघले संस्थाभित्र आन्दोलन गर्दै आएको थियो । तर, लघुवित्त व्यवस्थापनले कर्मचारीहरुसँग वार्ता गरेर समस्या समाधान गर्नुको सट्टा आन्दोलनको नेतृत् वगर्ने ७ जना कर्मचारीहरुलाई बर्खास्त गरेपछि समस्या बल्झिएको हो ।
मंसिर ९ गते ब्यवस्थापनले आन्दोलनको नेतृत्व गरेका ७ जना कर्मचारीको घर ठेगानामा बर्खास्तीको पत्र पठाएको छ । यद्यपि बर्खास्तीमा परेका लगायत अन्य कर्मचारी समेत अहिले केन्द्रीय कार्यालयमा १ सय १४ दिनदेखि धर्नामा छन् ।

अहिले स्वावलम्बन लघुवित्तको कमलपोखरीस्थित केन्द्रीय कार्यालय ठप्प छ । बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक लगायत अहिले होटलबाट कार्यालय चलाइरहेका छन् । केन्द्रीय कार्यालयमा रहेका झन्डै ३ दर्जन कर्मचारी समेत कार्यालय आएका छैनन् । कार्यालय नै आइकन व्यवस्थापनले बर्खास्तीको निर्णय गरेको खबर पाएपछि आन्दोलनको नेतृत्व फियनले लिएको हो ।
मंगलबार आयोजित ऐक्यवद्धता कार्यक्रममा फियन राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीले आन्दोलनरत कर्मचारीलाई ट्रेड युनियनले दिएको अधिकारक्षेत्रभित्र रहेर आन्दोलन जारी राख्न निर्देशन दिँदै त्यसविरुद्ध भएक गतिविधिविरुद्ध फियन लड्ने उद्घोष गरे ।
उनले व्यवस्थापनले संस्थाभित्र राजनीति गर्न खोजेको भन्दै राजनीति नै गर्ने भए चितवन जान सुझाव समेत दिए । ‘अहिले चितवनमा महाधिवेशन चलिरहेको छ, केही दिनपछि काठमाडौंमा अर्को महाधिवेशन हुन्छ । अर्को पार्टीको महाधिवेश पनि छिटै हुँदैछ, राजनीति नै गर्ने भए त्यही गए हुन्छ,’ उनले भने ।
सो कार्यक्रममा फियनका पूर्व महासचिव समेत रहेका नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगन्द्र कुँवरले पनि आन्दोलनमा आफ्नो संस्थाको ऐक्यवद्धता रहेको बताए । सो अवसरमा फियनमा आवद्ध रहेका झन्डै साढे २ दर्जन संस्थाका कर्मचारी युनियनहरुले सो आन्दोलनमा ऐक्यवद्धता रहेको बताएका थिए ।

अघिल्लो माघमा कर्मचारी संघ र व्यवस्थापन भएको सहमति कार्यान्वयनका लागि कर्मचारीहरु संघर्षरत छन् । व्यवस्थापनले सहमति गरेर पनि सहमतिको कार्यान्वयन नगर्नु वरु उल्टै कर्मचारीमाथि बर्खास्तीसम्मको कारबाही गर्नुले व्यवस्थापनको नियत प्रष्ट भएको कार्यक्रममा सहभागीहरुको भनाइ थियो ।



