काठमाडौं । चालू आर्थिक बर्षको चार महिनाको अवधिमै एक हजार ५ सय २२ जनाले शुक्लाफाँटा झलारीमा रहेको आयुर्वेद औषधालयबाट निशुल्क सेवा लिएका छन् ।
गत साउनमा ४ सय २४, भदौ ३ सय ७६, असोजमा ३ सय ८० कात्तिक महिनामा ३ सय ४२ जनाले आयुर्वेद औषधालयबाट निः शुल्क औषधिसँगै उपचार पाएका हुन । औषधालयबाट ३० प्रकारका रोगको औषधि बिरामीलाई उपलव्ध गराउँदै आएको औषधालयका कविराज जयराम शाहले जानकारी दिए । कोरोनाको महामारी फैलिएपछि आयुर्वेदिक औषधिको प्रयोग गर्ने बिरामीको सङ्ख्यामा वृद्धि हुँदैगएको उनले बताए ।
“स्वास्थ्यवद्र्धक र रोगप्रतिरोधी औषधिको माग बढ्दै गएको छ” उनले भने, “नगर प्रमुखदेखि प्रमुख प्रशासकीय अधिकृस्तर अन्य कर्मचारीलेसमेत औषधालयबाट निःशुल्क उपलब्ध हुने औषधिको प्रयोगमा जोड दिँदै आएका छन ।”
कोरोनाको सङ्क्रमण अघिसम्म थोरै मात्रै बिरामी आयुर्वेदिक औषधलयमा उपचारका लागि पुग्ने गरेको उनले बताए । “हाल बिरामीले आयुर्वेदिक औषधिको महत्व बुझ्दै जान थालेपछि औषधिको पु¥याउनै मुस्किल हुन थालेको छ” कविराज शाहले भने, “बिरामीको चापसमेत थेग्नै नसक्ने गरी बढेको छ ।” सरकारी आयुर्वेदिक औषधि उपलव्ध गराउने र उपचार गर्ने एक मात्रै औषधालय भएकाले पनि बिरामीको चाप बढेको उनको भनाइ छ ।
उनका अनुसार २०७७÷७८ को असार मसान्तसम्म औषधालयबाट ४ हजार ४ सय ७६ बिरामीले सेवा पाएका छन । जसमध्ये सबै भन्दा बढी वातव्याधिका १ हजार ३ सय ८४, अम्लपित्तका ७ सय ४८, स्वासप्रश्वास सम्बन्धिका ४ सय ३७, गुदविकारका २ सय १५, स्त्रीरोगका १ सय १३, उदररोगका २ सय ५६ जनाले सेवा पाएका छन् ।
यी रोगसँगै ज्वर, श्वसन विकार अतिसार, प्रमेह, कामला, पाण्डु, हृदयसम्बन्धी, रक्तचाप, सोथ, कृमि, छालारोग, आघातज, आमवात, वातरक्त, रक्तविकार, मुत्रविकार, प्रसूति विकार, नेत्ररोग, कर्ण, नशा, मुख, दन्त, कण्ठ रोग, शिरोरोग, बालरोग, जराजन्यसम्बन्धी बिरामीलाईसमेत औषधालयबाट लाभान्वित भएका छन् ।



