काठमाडौं । उद्योगी र विद्यार्थीलाई जोड्न इण्डष्ट्री अकेडेमिया मञ्च गठन हुने भएको छ । आइतबार त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (सोमटु) र नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषदबीच मञ्च गठन गर्ने विषयमा समझदारी भएको हो । मञ्चले विश्वविद्यालयमा दिइने शिक्षालाई व्यवहारमुखी बननाउने तथा पढाई सकेका विद्यार्थीलाई रोजगारी दिने सम्बन्धमा आवश्यक भूमिका खेल्नेछ ।
आइतबार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा महासंघको वस्तुगत परिषद् र सोमटुद्वारा संयुक्त रुपमा उक्त प्रतिवद्धता व्यक्त भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भने–हामी सहकार्य गर्न तयार छौं, वास्तवमा यो दुइटा क्षेत्रनै यस्तो क्षेत्र हो जसको बलियो सहकार्य हुन सक्यो भनेमात्र मुलुकले देखेको समृद्धिको सपना साकार पार्न सकिन्छ ।
महासंघले साना तथा मझौला उद्यो, स्टार्टअप, मेडइन नेपाल जस्ता अभियानलाई विशेष जोड दिइ अगाडि बढाएकाले यसका लागि दक्ष जनशक्ति पहिलो आवश्यकता हुँदा जनशक्ति विकासमा टीयूबाट ठूलो सहयोग हुन सक्ने बताए । यसका लागि दुवै संस्था बीच एउटा स्थायी खालको संरचनानै तयार गरेर जानुपर्नेमा जोड दिए ।
सो अवसरमा सोमटुले तयार गरेको नयां कोर्श अफ स्टडीका वारेमा व्यापक छलफल भई त्यसमा उद्यमी व्यवसायीहरुका तर्फबाट सल्लाह सुुझाव समेत संकलन गरिएको थियो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणी घिमिरे र विश्वविद्यालय अनुुदान आयोगका पूर्व सदस्य सचिव एवं व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक डाक्टर देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताए ।
यस कार्यमा महासंघसंग सहकार्य हुने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा महासंघकातर्फबाट दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने, आफ्नो क्षेत्रमा लिडर तयार गर्ने गरी शैक्षिक कोर्श संशोधन गर्नुपर्ने सुुझाव दिइएको थियो । शैक्षिक कोर्श संशोधन गर्दा शिक्षालाई व्यवहार उपयोगी बनाउने, जनशक्ति व्यवस्थापन, गुणस्तर सुधार, विदेशी केश स्टडीमा भन्दा नेपाली संदर्भमा केश स्टडीमा जोड, आपूर्ति श्रृंखलाको व्यवस्थापन, ईकमर्सलाई उच्च प्राथमिकता, इन्भेन्टरी म्यानेजमेन्ट, नेगोशिएसन, वाणिज्य मध्यस्थता, ट्रेड डाटा एनालाइशिस लगायतका विशेषलाई पनि समेटनु पर्ने सुझाव सो अवसरमा निजी क्षेत्रबाट दिइएको थियो ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विश्वविद्यालयले दिने शिक्षा व्यवहार उपयोगी, मुुलुकको उद्योग व्यवसाय, शीप विकासमा केन्द्रीत, उच्च प्राविधिक ज्ञान दिने खालको हुनुपर्ने सुझाव दिए । वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले लक्ष्मी र सरस्वतीको यो संयुक्त प्रयासलाई सफल पार्न सकियो भने प्राज्ञिक क्षेत्र, उद्योग व्यवसाय क्षेत्र, समाज र सिंगो राष्ट्रले नै लाभ उठाउन सक्ने विश्वास प्रकट गरे ।
कार्यक्रममा सहायक प्राध्यापक डा. गंगाराम विश्वकर्मा, सहायक प्राध्यापक डाक्टर ध्रुवलाल पाण्डे, सहायक प्राध्यापक डाक्टर जितेन्द्र डंगोलले नयां कोर्श अफ स्टडीका वारेमा जानकारी गराएका थिए भने महासंघको वस्तुुगत परिषदका सहसभापतिद्वय अरनिको राजभण्डारी र सुुनिल गोपाल श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका कामु निर्देशक डा. गोविन्द तामाङले दुवै संस्था बीचको सहकार्यको महत्वमाथि चर्चा गरेका थिए ।



