काठमाडौं । नयाँ हाकिम फेरिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालय निकै कडा बनेको छ । अघिल्लो साता मात्रै अर्थ मन्त्रालयले महेश भट्टराईलाई कार्यालयको प्रमुख भन्सार अधिकृत बनाएर पठाएको थियो । यसअघि उनी मन्त्रालयकै वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख थिए । उनी कार्यालयमा गएपछि सो त्रिभुवन विमानस्थलबाट हुने जाँचपासलाई निकै कडा पारिएको छ । साथै कार्यालयले सार्वजनिक सूचना जारी नै गरेर समेत कडाई गर्ने जनाएको छ ।
विभागले विदेशबाट फर्किँदा ५० ग्रामसम्म भन्सार नतिरि र त्यसभन्दा मागि २ सय ग्रामसम्म भन्सार तिरेर सुन ल्याउन सक्ने व्यवस्था रहेको भन्दै योभन्दा धेरै परिमाणको सुन ल्याएको पाइए सोझै जफत गर्ने जनाएको छ । त्यस्तै, व्यक्तिगत प्रयोग बाहेकका सुनको हकमा भन्सार जाँचपास गराएर १०० ग्रामसम्म ल्याउन पाइने र त्योभन्दा बढी ल्याएको पाइए सोझै जफत गर्ने जनाएको छ ।
त्यस्तै, व्यक्तिगत रुपमा एउटा ल्यापटप वा ट्याबलेट भन्सार नतिरि ल्याउन पाउने व्यवस्था रहेकोमा त्योभन्दा बढी ल्याएमा भन्सार तिर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै एउटा भन्दा धेरै मोबाइल फोन ल्याएको पाइए भन्सार महशुल लाग्ने समेत प्रष्ट पारिएको छ ।
अहिले विदेशबाट आउँदा एक बोतलसम्म मदिरा ल्याउन पाउने व्यवस्था रहेकोमा त्योभन्दा धेरै मदिरा ल्याए भन्सारमै जफत गर्ने समेत कार्यालयले प्रष्ट पारेको छ । कार्यालयले आर्थिक ऐन २०७८/७९ ले गरेको व्यवस्था सम्झाएको छ ।
उच्च आयात र घट्दो रेमिट्यान्सका कारण यतिबेला देशको शोधनान्तर स्थितिमा चाप देखिएको छ । साथै भन्सारमा हुने अवैध सामान आयातले देशको राजश्वमा समेत प्रभाव पारेको अवस्थामा कार्यालय निकै कडा रुपमा प्रस्तुत भएको छ । कानूनी परिवर्तन नभए पनि अहिले विद्यमान व्यवस्थालाई कडाइका साथ लागु गर्न लागिएको कार्यालयले जनाएको छ ।



