काठमाडौं । ठूला ३ आयोजनाको निर्माण अन्तिम चरणमा पुग्दा पनि प्रसारण लाइन नबनेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रसुवा र नुवाकोटमा निर्माणाधिन प्रसारण लाइनको स्थलगत अनुगमनमा पुगेका छन् ।
आइतबार कार्यकारी निर्देशक घिसिङसहितको टोलीले निर्माणधिन प्रसारण लाइनको स्थलगत अवलोकन गरेको हो । सो क्रममा कार्यकारी निर्देशक घिसिङले अब कुनै पनि बहानामा आयोजना ढिलाइ हुन नहुने भन्दै ठेकेदार कम्पनीलाई सचेत गराएका छन् । ‘यसै पनि प्रसारणलाइनमा जोडिने तीनवटा आयोजना अन्तिम चरणमा छन् । अब यो वा त्यो बहानामा ढिलाइ गर्ने छुट छैन । निर्माण कार्यलाई तीव्रता दिनुहोस्, हैन भने अहिलै हात उठाएर हिँड्नुहोस्,’ उनले भने ।
अहिले प्राधिकरणकै अधिकांश स्वामित्व भएका १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना निर्माणको अन्तिम चरणमा छन् । यी सबै आयोजना यही प्रसारण लाइनमा जोडिनेछन् । प्रसारण लाइन अभावमा यी आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि घिसिङको सक्रियता बढेको हो ।
ठेकेदार कम्पनीले भने भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने अवस्था रहेको जनाएको छ । साथै, बाढी पहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायतका कारण आयोजनाको निर्माण प्रभावित भएको समेत उसको तर्क छ ।
अनुगमनका क्रममा घिसिङले साइटमा देखिएको अबरोध हटाउन र वित्तीय व्यवस्थापनका लागि सहयोग गर्ने आश्यासन दिएका थिए । उनले भने, ‘साइटमा हुने अवरोध हटाउन र नगद प्रवाह व्यवस्थापनमा हामी सक्दो सहयोग गर्छौं, निर्माण ढिला भएर उत्पन्न हुने परिस्थितिको जिम्मेवारी ठेकेदारले लिनुपर्छ ।’
टोलीले प्रसारण लाइन निर्माणमा आमाछोदिङमो गाउँपालिका—१ हाकुका बासिन्दाले बाहिरबाट कामदार ल्याएर काम लगाउन नहुने भन्दै गर्दै आएको अवरोधलाई हटाउन छलफल गरेको थियो । गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, वडाध्यक्ष निमा दिण्डु तामाङसहित स्थानीयबासीसँग छलफल गरिएको थियो ।
छलफलमा टोलीले प्रसारण लाइनको अभावमा रसुवाबासीको पनि लगानी रहेको आयोजनाको बिजुली खेर जाँदा यसबाट कसैले प्रतिफल नपाउने उल्लेख अवराध नगर्न आग्रह गरेका थिए ।
रसुवा तथा नुवाकोटमा निर्माणाधीन जलविद्युत् आयोजनाका प्रासारण लाइन निर्माण ६० प्रतिशत सकिएको छ । चिलिमेदेखि त्रिशुली थ्रीबीसम्मको विद्युत् आपूर्तिको लागि २२० केभीए क्षमताको प्रसारण लाइन र सबस्टेशन निर्माणमा सो बराबरको उपलब्धि हासिल भएको हो । आगामी साउनसम्म प्रशारण लाइन पूर्ण रुपमा सक्ने लक्ष्य राखिएको छ ।
आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको चिलिमे हव र त्रिशुली थ्रीबी हब सबस्टेशन निर्माण भइरहेका छन्. । साथै, चिलिमे –त्रिशुली थ्रीबी हब २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छन् ।
दुवै सबस्टेसनको सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेशनमा रहने पावर ट्रान्सफर्मर, जिआईएसलगायतका महत्वपूर्ण उपकरणहरुको आपूर्ति ६५ प्रतिशत भइसकेको छ । प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ । ६ वटा टावर खडा गरिएको छ । आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली थ्रीबी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्ने छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहेको सो आयोजना निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी पिङगाओसँग २०७४ कात्तिकमा सम्झौता भएको थियो ।



