काठमाडौं । नेपाल आयल निगमले आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने भएको छ । पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि निगमले यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
अहिले निगमको इन्टरप्राइजेज रिसोर्स प्लान (ईआरपी) परियोजना कार्यान्वयनको चरणमा छ । सो परियोजनालाई ५ वटा सेगमेन्टमा विभाजन गरिएकोमा ३ वटा सेगमेन्ट अहिले व्यवसायिक प्रयोगमा गइसकेको छ । बाँकी २ सेगमेन्टमध्ये डिजिटल भुक्तानी अन्तर्गत यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको परियोजना प्रमुख राजन नेपालले जानकारी दिए ।
वालेट सेवा सञ्चालनको लागि निगमले राष्ट्र बैंकसँग अनुमतिका लागि एक चरणको छलफल समेत गरिसकेको छ । सो अनुमतिको विषयमा केन्द्रीय बैंक सकारात्मक भएपछि निगम यसको तयारीमा अघि बढेको परियोजना प्रमुख नेपालको भनाइ छ ।
निगमले वालेट सेवा सञ्चालनमा ल्याए पनि अरु सेवा प्रदायकजस्तो व्यवसायिक भुक्तानी प्रयोजनका लागि भने यसको प्रयोग हुने छैन । तर, निगमलाई पम्प तथा ग्यास बोटलिङ प्लान्ट कम्पनी लगायतले भुक्तानी गर्नुपर्दा तथा आम ग्राहकले पेट्रोल पम्प तथा बिक्रेतालाई भुक्तानी गर्नुपर्दा यो एपको प्रयोग गर्न सकिन्छ ।
अहिले राष्ट्र बैंकले यस्तो भुक्तानीमा सीमा निर्धारण गरेको छ । तर, निगमले वालेट सेवा प्रदान गर्दा भुक्तानीको सीमाले समस्या हुनसक्ने भएपछि यसको नीतिगत सुधारका लागि समेत राष्ट्र बैंकसँग छलफल गरेको छ । यो विषयमा समेत राष्ट्र बैंक सकारात्मक रहेको निगमले जनाएको छ ।
मोबाइल एप्लिकेसनमार्फत् सञ्चालन हुने यो प्रणाली कार्यान्वयनमा आएपछि सो एपमार्फत् घरमै बसेर ग्यास अर्डर गर्न, बाटोमा हिँड्दा पेट्रोल पम्पको लोकेसन पत्ता लगाउन सकिने व्यवस्था गरिनेछ ।
यो परियोजना अबको ३ महिनाभित्रै कार्यान्वयनमा ल्याउने तयारी गरेको नेपालले बताए । ‘हामीले अहिलेसम्म वालेट सेवा सञ्चालनका लागि निवेदन दिएका त छैनौं, तर छलफल सकारात्मक भएकोले छिटै आवेदन दिने तयारीमा छौं,’ उनी भन्छन्, ‘राष्ट्र बैंकबाट समयमै अनुमति पाउने हो भने ३ महिनाभित्रै यो कार्यान्वयनमा जान सक्छ । हामी हाम्रो साइडबाट तयारी अवस्थामै छौं ।’



