भरतपुर । चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा ९एमाले०को१०औँ राष्ट्रिय महाधिवेशनका लागि भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ ।
एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो । भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताए । उनले भने, “महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ । विमानस्थलमा पनि भीडभाड बढेको छ ।”
बुद्ध एयरका प्रबन्धक भक्त बस्नेतले पनि महाधिवेशनका लागि विमानस्थलमा चहलपहल बढ्न थालेको जानकारी दिए । उनले भने, “काठमाडौँमा दैनिक १० उडान, पोखरा र भैरहवामा दुई उडान गरिरहेका छौँ । सबै जहाजमा यात्रु भरिएको छ । यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ ।”
असोज १ गतेदेखि काठमाडौँबाट यहाँसम्म उडान सुरु गरेको गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा पनि उडान सुरु गरेको छ । गुणले यसअघि काठमाडौँका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो । उक्त एयरलाइन्सका स्टेशन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौँबाट भरिएर आउन थालेको जानकारी दिनुभयो । उनले भने, “विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको सङ्ख्या बढ्दो छ ।”
स्वयंसेवकलाई प्रशिक्षण
एमालेको चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि स्वयंसेवकलाई प्रशिक्षण दिइएको छ । बुधबार पार्टी कार्यालयको सभाकक्षमा ३०० स्वयंसेवकलाई प्रशिक्षण दिइएको हो । पार्टीका जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनका लागि पाँच हजार स्वयंसेवकको व्यवस्था गरेर प्रशिक्षण दिइएको बताए । महाधिवेशनलाई सभ्य र भव्य बनाउन स्वयंसेवकलाई निर्देशन दिइएको थियो । महाधिवेशनको उद्घाटनसत्र यही मङ्सिर १० गते नारायणी नदी किनारमा हुने छ भने बन्दसत्र ११ र १२ गते सौराहामा हुनेछ ।



