images
images

प्रहरीले बढायो सवारी चालकमाथि निगरानी


  • 395
    SHARES
  • २०७८ मंसिर ९ गते बिहीबार

    प्रहरीले बढायो सवारी चालकमाथि निगरानी

    काठमाडौं । मदिरा सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयले निगरानी बढाउन थालेको  छ । पासाङल्हामु राजमार्गमा  केहीले मदिरा सेवन गरी सवारीसाधन चलाएको भन्ने जनताको गुनासो बढेकाले पूर्वसावधानी अपनाउन नेपाल प्रहरीले निगरानी बढाएको हो ।

    कसैले पनि मदिरा सेवन गरेर सवारीसाधन चलाउन मिल्दैन तर रसुवाका मार्गमा यात्रु बोकेर हिँडेका केही चालकले बीच बाटोमै सवारीसाधन रोकेर मदिरा सेवन गरेको भन्ने सूचना प्राप्त भएकाले प्रहरीद्वारा सुक्ष्म निगरानी सुरु गरिएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

    मदिरा सेवन गर्ने चालक एवं चालक हो भनी जानाजान मदिरा बिक्री गर्ने विक्रेतासमेत दुवैमा निगरानी सुरू गरिएको बताइएको छ । कुनै पनि चालकले सवारीसाधन चलाउँदा मदिरा सेवन नगर्न र सवारी साधन गुडाइरहेको अवस्थामा मोबाइल फोन नउठाउन पनि प्रहरीले आग्रह गर्दै आएको छ । मोबाइल फोन उठाउन वा गर्नैपरेमा सवारीसाधनलाई रोकेर मात्र कुराकानी गर्न चालकलाई आग्रह गरिएको प्रहरीले जनाएको छ ।

    एकातर्फ सवारी साधनको चाप, अर्कोतर्फ बढी मात्रामा घुम्तीमोहडाजस्ता स्थानमा समेत चलकले सवारीसाधन गुडाइरहेकै अवस्थामा एक हातले मोबाइल उठाउने र अर्को हातले सवारीसाधनको स्टेरिङ घुमाउने गरेकाले प्रहरीको निगरानी समय सान्दर्भिक भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

    चालकले मदिरा सेवन गरेको पाइएमा छिटोभन्दा छिटो जिल्ला प्रहरी कार्यालयको मोबाइल नम्बर ९८५१२७५५५५ मा खबर दिई सहयोग गरिदिन यात्रुसमक्ष आग्रह गरिएको प्रहरी प्रमुख पाण्डेले बताए । आम नागरिकको जीउज्यानको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाले कुनै पनि क्षेत्रमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक नियम पूर्णपालना गर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।


    images
    images

    Logo