काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात घटाउने आधारहरू हुँदाहुँदै पनि नघटेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउँदै उनले अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउनसक्ने बताए ।
अर्थ मन्त्रालयमा बुधबार बसेको आर्थिक वर्ष २०७८/७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयूतरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो बताएका हुन् । मन्त्री शर्माले पुँजीगत खर्च बढाउन नयाँ प्रणाली अपनाउनुपर्ने पनि बताए ।
विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा पुँजीगत खर्च नभएपछि नयाँ प्रणाली आवश्यक र हेको उनको भनाइ छ । पुँजीगत खर्च उल्लेख्य रूपमा नबढेकोप्रति पनि अर्थमन्त्रीको असन्तुष्टि थियो । विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च नबढे अब नयाँ विकल्प अवलम्बन गर्नैपर्ने उनको भनाइ थियो ।
“यदि पुँजीगत खर्च यो तरिकाले हुन्न भने म अर्को तरिका सोच्दैछु,” उनले भने, “अरू एक महिनासमेत पर्खेर हुँदैन भने नयाँ तरि काबाट खर्च गर्नुपर्छ भन्ने मान्यता छ । खर्च चाहिँ जसरी पनि गर्नुपर्छ ।”
मन्त्री शर्माले लघुवित्तको ब्याज घटाएर एकल दरमा झार्दै साना किसान तथा लगानीकर्तालाई ऋण उपलब्ध गराउनुपर्ने, कृषि विकास बैंकको नाम परिवर्तन गर्नुपर्ने तथा डिजिटल कारोबार लाई व्यापक गर्नुपर्ने समेत बताए ।
बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले तरलताको चापलाई घटाउन सुन आयातमा निगरानी गर्नुपर्ने बताए । उनले हुण्डीमार्फत नेपाल पैसा पठाउँदा विदेशी मुद्रा उतै रहने र त्यसले सुन कारोबार भइरहेको बताए ।
त्यसले विप्रेषणमा समेत नकारात्मक असर गरेको उनको भनाइ छ । बाहिर बजारमा बजेट र अर्थतन्त्रबारे गलत प्रचार भइरहेकोप्रति संवेदनशील हुन आग्रह गर्दै उनले पुँजीगत खर्च बढाउनमा ध्यान दिन सम्बन्धित मन्त्रालयलाई आग्रह गरे ।



