काठमाडौं । मदिरा तथा सुर्तीजन्य वस्तुको विज्ञापन गर्न नपाउने व्यवस्थाप्रति मिडिया क्षेत्रका ३ संस्थाहरुले आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ती जारी गर्दै नेपाल मिडिया सोसाइटी, रेडियो ब्रोडकास्टर्स एशोसिएसन र नेपाल विज्ञापन संघले सो व्यवस्थाप्रति विरोध जनाएका हुन् ।
विज्ञापन बोर्डले कात्तिक २५ गते विज्ञप्ती जारी गर्दै चाडबाडको समयमा केही मिडियाहरुले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन प्रकाशन र प्रसारण गरेको भन्दै त्यस्तो कार्य नगर्न/नगराउन तथा यस्ता विज्ञापन भएका होर्डिङ बोर्डहरु समेत तत्काल हटाउन निर्देशन दिएको थियो ।
विज्ञापन बोर्डको उक्त विज्ञप्तीप्रति आपत्ति जनाउँदै ती संस्थाहरुले कोभिड महामारीका कारण क्षतिग्रस्त भएको विज्ञापन व्यवसाय सुधारको क्रममा रहेकै समयमा बोर्डको यस्तो विज्ञप्ती आउनु आपत्तिजनक भएको उल्लेख गरेका छन् । उनीहरुले ती वस्तहरुको उत्पादन गर्न, आयात गर्न, बिक्री वितरण गर्न पाउने तर विज्ञापन चाहिँ गर्न नपाउने व्यवस्था लागु हुन नसक्ने भन्दै कुनै ऐनको हवाला दिएर जारी गरिएका विज्ञप्ती मान्य नहुने समेत जनाएमा छन् ।
यसरी विज्ञापन रोक्दा स्थापित एक/दुई बाहेक अन्य व्यवसायिक संस्था धरासायी हुनसक्नेतर्फ पनि यी संस्थाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।



