काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुर नगर क्षेत्रभित्रका किसानहरूलाई गहुँ र आलुको बीउ वितरण गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज आयोजित कार्यक्रममा १० वटै वडाका कृषक समूहलाई आलु र गहुँको बीउ हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले निर्यातजन्य वस्तु उत्पादन तथा उत्पादकत्व बढाउन नसक्दा मुलुकको व्यापार घाटा चुलिएको बताउँदै उनले कृषि प्रधान देश भएर पनि नेपाल कृषिमै परनिर्भर हुनुमा शासक दलहरु जिम्मेवार भएको बताए ।
उहाँले भन्नुभयो, ‘विश्वमा नेपाल धेरै धान उत्पादन गर्ने देशभित्र पर्छ । नेपालको खेतबारीमा फलेको अन्नबाली अपुग भएका कारण करोडौंको चामल विदेशबाट आयात गर्नुपरिरहेको बिडम्बना नेपालमा छ ।’
भक्तपुर नगरपालिकाले कामदार वर्गलाई लक्षित गर्दै किसानहरुलाई हित र फाइदा हुने गतिविधिमा जोड दिँदै आएको बताउनुहुँदै पुँजीपति सरकारले कामदार वर्गको हितमा काम नगर्ने विचारबारे प्रष्ट पारे ।
जलस्रोतका हिसाबले विश्वमा दोस्रो धनी देश नेपालमा नागरिकहरु आधारभूत खानेपानी र बिजुली सेवाबाट बञ्चित छन् भन्दै उनले जलविद्युतको विकासबाट नेपाल समृद्ध र धनी बन्न सम्भव भएको बताए ।
नेपाल क्रान्तिकारी किसान संघ, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष गोविन्द दुवालले खेतबारीमा गहुँ र आलु लगाउने समय भएकोले भक्तपुर नपाले कामदार जनतालाई लक्षित गर्दै उन्नत जातको बीउ वितरणमा जोड दिँदै आएको बताउनुहुँदै मलखाद समयमै उपलब्ध गराउँदा किसानहरुले लाभान्वित भएको बताए ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष एवम् कृषि समितिका संयोजक राजकृष्ण गोराले नगरबासी कृषकहरुलाई उत्साहित पार्न र कृषि उत्पादन गर्न उन्नत जातको गहुँ, धान, आलुको बीउ र कृषि चुन वितरण गर्दै आएको बताउनुहुँदै नगरपालिकाले किसानहरुको सल्लाहबमोजिम कृषि लक्षित कार्यक्रमहरुलाई अगाडि सार्दै आएको प्रष्ट पारे । कृषि क्षेत्रमा उत्पादन कमी आउँदा किसानहरु निराश बनेको प्रसंग जोड्दै कृषि उत्पादन घट्नु भनेको नेपाल कृषि क्षेत्रमा परनिर्भर हुँदै जाने खतरा रहेको बताए ।
भक्तपुर नपाका कार्यपालिका सदस्य एवम् कृषि समितिका सदस्य कृष्णलक्ष्मी दुवालले बढी उत्पादन हुने आशले किसानहरुले लगाएको हाइब्रिड धानको उत्पादन झन् झन् घट्दै जाँदा किसान निराश बनिरहेको उल्लेख गरे ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष एवम् कृषि समितिका सदस्य लक्ष्मीप्रसाद ह्यौंमिखाले मलको बिक्री वितरणमा बिचौलियाले ठगिरहेको भन्दै भक्तपुर नपाले मल विक्री वितरणमा गरेको मूल्य निर्धारणले किसानहरु लाभान्वित बनेको उनको भनाइ छ ।
भक्तपुर नगरपालिकाका १० वटै वडामा गठित कृषि समूहमार्फत नगरभित्रका किसानहरुलाई प्रति घरपरिवार ५ किलो गहुँ र ५ किलो आलुको बीउ उक्त वितरण गरिने अवगत गराए ।



