images
images

६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशतले वृद्धि


  • 372
    SHARES
  • २०८१ माघ २० गते आइतबार

    ६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशतले वृद्धि

    काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा ४.१ प्रतिशतले वृद्धि भई कुल ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको उल्लेख गरेको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । 

    यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो । 

    पुससम्मका ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।

    विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशतले वृद्धि

    राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई पुस मसान्तमा २३१६ अर्ब ८४ करोड पुगेको उल्लेख छ । 

    अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको रिपोर्टमा उल्लेख छ । 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति मात्र असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेको थियो । तर, पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २०७२ अर्ब ३४ करोड पुगेको उल्लेख छ ।

    चालु खाता १४८ अर्ब १७ करोडले बचतमा

    ६ महिनाको अवधिमा चालु खाता १४८ अर्ब १७ करोडले बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १६२ अर्ब ५६ करोडले बचतमा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा उल्लेख छ । 

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको रिपोर्टमा उल्लेख छ । 

    यस्तै समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ११ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) आप्रवाह ४ अर्ब ५४ करोड रहेको थियो ।

    यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति २४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो ।


    images
    images

    Logo