काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को पुससम्मको तुलनामा यसपटक घरजग्गाको कारोबार १.८४ प्रतिशतले बढेको हो ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २ लाख ३२ हजार २०९ वटा लिखतपारित भएका छन् जुन गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुससम्मा २ लाख २८ हजार ४ वटा लिखतपारित भएका थिए । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्ममा १ लाख ९० हजार वटा लिखतपारित भएका थिए । जुन गत आर्थिक वर्षको तुलनामा १९.७८ प्रतिशतले बढी हो ।
लिखतपारितसँगै बढ्यो राजस्व संकलन
लिखतपारितको संख्यासँगै राजस्व संकलनमा पनि वृद्धि आएको छ । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा घरजग्गाको कारोबारबापत २० अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत वर्षको तुलनामा १३.९५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा घरजग्गाको कारोबारबापत १८ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत आर्थिक वर्षमा २०७९–८० को तुलनामा घरजग्गाको कारोबार बढेको भएतापनि राजस्व संकलन भने घटेको थियो । सो वर्षको ६ महिनामा घरजग्गाको कारोबारबापत १८ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा जनाइएको छ ।



