काठमाडौं । वित्तीय क्षेत्रको तरलता संकट झनै गहिरिँदै गएको देखिएको छ । वाणिज्य बैंकहरुमा भएको कर्जा र निक्षेप विस्तारको आकारलाई हेर्दा आगामी महिनामा यस्तो संकट झनै बढ्ने देखिएको हो ।
अघिल्लो सातामा मात्रै बैंकहरुको निक्षेप र कर्जाको विस्तारको बीचमा १६ अर्ब रुपैयाँ ऋणात्मक देखिएको छ ।
कात्तिक १२ गते बैंकहरुसँग ४ हजार २ सय ४७ अर्ब रुपैयाँ निक्षेप र ४ हजार १८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । कात्तिक १७ गते निक्षेप ४ हजार २ सय ३८ अर्बमा झर्दा कर्जा १ हजार २५ अर्ब पुगेको छ ।
निक्षेपमा ९ अर्बको गिरावट र कर्जामा ७ अर्बको वृद्धिले यो ५ दिनमा मात्रै कर्जा र निक्षेपको विस्तारमा १६ अर्बको असन्तुलन देखिएको छ ।
मंसिर १ देखि लागु हुनेगरी बैंकले नयाँ ब्याजदर तालिका सार्वजनिक गर्दैछन् । राष्ट्र बैंकको पछिल्लो व्यवस्था अनुसार १० प्रतिशतसम्म ब्याजदर घटबढ मिल्छ । यसअनुसार अहिले ९.३६ विन्दुमा रहेको मुद्दत खाताको ब्याजदर बढेर दोहोरो अंकसम्म पुग्न सक्छ । कर्जा र निक्षेपको यो असन्तुलनले यसलाई अधिकतम विन्दुमा पुर्याउनसक्ने संकेत देखिएको छ ।



