काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले करिब ३६ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को पुस महिनाको अन्तिम सम्ममा सरकारले ३५.८९ प्रतिशत बजेट खर्च गरेको हो । चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको थियो, जसमध्ये हालसम्म ६ खर्ब ५० अर्ब रुपैयाँ खर्च भएको छ ।
६ महिनाको अवधिमा सरकारले चालू शिर्षकमा छुट्याएको बजेटको ३९.६३ प्रतिशत बजेट खर्र्चिएको छ । उक्त शिर्षकमा खर्च गर्न ११ खर्ब ४० अर्ब रुपैयाा बजेट विनियोजन गरिएको थियो । जसमध्ये हालसम्म ४ खर्ब ३९ अर्ब रुपैयाँ खर्च भएको छ ।
पुस मसान्तसम्ममा सरकारको पुँजीगत खर्चको अवस्था भने निकै नै कमजोर देखिएको छ । सो अवधिमा सरकारले ५५ अर्ब ३५ करोड रुपैयाँ मात्र पुँजीगत बजेट खर्चिएको छ, जुन उक्त शिर्षकमा छुट्याइएको बजेटको १६.१६ प्र्रतिशत हो । चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरेको थियो ।
वित्तिय व्यवस्था अन्तर्गत छुट्याइएको बजेटको भने ४३.२ प्रतिशत रकम खर्च भइसेको छ । उक्त शिर्षकमा सरकराले ३ खर्ब ६७ अर्ब रुपैयाा विनियोजन गरेको थियो । त्यसमध्ये, हालसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आम्दानी लक्ष्यको ३९ प्रतिशत
सरकारले ६ महिनाको अवधिमा ५ खर्ब ३४ अर्ब रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । हालसम्म लक्ष्यको ३९.४३ प्रतिशतमात्र राजस्व संकलन भएको तथ्यांकमा जनाइएको छ ।
हालसम्म कर राजस्व शिर्षकमा ४ खर्ब ७१ अर्ब रुपैयाँ र गैर कर राजस्व शिर्षकमा ६३ अर्ब २२ करोड रुपैयाँ संकलन भएको छ ।
चालू खर्च धान्ने अवस्थामा आन्तरिक आम्दानी
आर्थिक वर्षको ६ महिना सकिँदा सरकारको आम्दानीले नै चालू खर्च धान्न सक्ने अवस्था बनेको छ । सो अवधिमा सरकारको आन्तरिक आम्दानी ५ खर्ब ३४ अर्ब रुपैयाँ रहँदा चालू खर्च ४ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।
चालू खर्चअन्तर्गत कर्मचारीको तलब भत्तालगायतका प्रशासनिक खर्च पर्दछन् ।



