काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई ५.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।
गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि उच्च देखिएको छ । गत मङ्सिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५ प्रतिशत र ४.९२ प्रतिशतले वृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले वृद्धि भएको छ ।
गत मङ्सिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.५२ प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.८९ प्रतिशतले वृद्धि भएको छ । प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६, मधेश प्रदेशको ६.७७, बागमती प्रदेशको ५.८४, गण्डकी प्रदेशको ४.८१, लुम्बिनी प्रदेशको ५.५३, कर्णाली प्रदेशको ४.१९ र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको छ ।
यस अवधिमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२, तराईको ६.३१, पहाडको ५.६५ र हिमालको ६.५८ प्रतिशत रहेको छ । गत मङ्सिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.६३ प्रतिशत रहेको थियो । यो अवधिमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.१४ प्रतिशतले घटेको छ ।



