images
images

बेनी–जोमसोम सडकमा चार वटा बेलिब्रिज प्रयोगविहीन


  • 581
    SHARES
  • २०७८ कार्तिक २३ गते मंगलबार

    बेनी–जोमसोम सडकमा चार वटा बेलिब्रिज प्रयोगविहीन

    म्याग्दी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकमा चार वटा बेलिब्रिज प्रयोगविहीन भएका छन् । अर्कोतर्फ सडकको विभिन्न ठाउँका खोलामा पुल नहुँदा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै सवारी आवतजावत् प्रभावित बनेको छ । 

    स्थायी पक्की पुल निर्माण भएपछि अस्थायी रुपमा सवारीसाधन आवतजावत गराउन बनाइएको बेलिब्रिज प्रयोगविहीन बनेका हुन् । दुई वटा बेलिब्रिज प्रयोगविहीन बनिसकेको बेनी–जोमसोम सडकका थप दुई वटा बेलिब्रिज पनि विस्थापित हुने अवस्थामा रहेका बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

    आयोजना प्रमुख जगत प्रजापतिले म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ महभिर र मुस्ताङको थासाङ गाउँपालिकाको लेतेखोलामा पक्की पुल बनेपछि त्यहाँको बेलिब्रिज प्रयोगविहीन बनेको बताए । 

    “अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा पर्ने पाखेरेबगरस्थित कालीगण्डकी र बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित राहुघाट नदीमा पनि पक्की पुल निर्माणको अन्तिम चरणमा छ”, उनले भने, “लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न ठेक्का सम्झौतामा उल्लेख भए पनि अन्य पुल स्थानान्तरणका लागि नीतिगत निर्णयको आवश्यकता छ ।”

    विसं २०६३ मा मार्ग खुलेको ७६ किलोमिटर दूरीको मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा पक्की पुल निर्माण नहुँदासम्मका लागि नेपाली सेनाले बेलिब्रिज बनाएको थियो । रघुगङ्गा गाउँपालिका–१ बेगखोलाको बेलिब्रिज बाढीले बढाएको थियो । अन्य ठाउँका बेलिब्रिज सामान्य मर्मत गरेर स्थानान्तरण गर्न सकिने अवस्थाका छन् । 

    बेगखोला, रुप्सेखोलालगायतका ठाउँमा पुल नहुँदा बर्खा याममा बाढी आउदा बेनी–जोमसोम सडकमा सिधा आवतजावत प्रभावित हुने गरेको छ । लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न पक्की पुल निर्माणको ठेक्का सम्झौतामा उल्लेख भए पनि स्थानान्तरण गर्ने ठाउँ तय नहुँदा अलमल भएको आयोजना प्रमुख प्रजापतिले बताए । 

    सोमबार भएको जिल्ला समन्वय समिति म्याग्दीको छैठौ जिल्ला सभाले प्रयोगविहीन बेलिब्रिज स्थानान्तरणका विषयमा छलफल भए पनि ठोस् निर्णय हुन सकेन् । सम्बद्ध निकाय र बेलिब्रिज बनाएको नेपाली सेनासँग परामर्श गरेर बेलिब्रिज स्थानान्तरण गर्ने ठाउँ छनोट गरेर सिफारिस गर्ने जिसस प्रमुख देवेन्द्रबहादुर केसीले बताए । 

    बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत निर्माणाधीन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेवेल पुल अलपत्र बनेका छन् । आयोजनाका इञ्जिनीयर आश्वीनीकुमार यादवले निर्माणको क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दूरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए । 

    “४० मिटर लम्बाइ भएको रुप्से खोलाको पुलको दुईतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जगनै खलबलाउने गरी बाढीले बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ”, उनले भने  “भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भएको हो ।”


    images
    images

    Logo