images
images

अध्यादेशबाट संघीय निजामति ऐन आउँदै, कर्मचारीको उमेर हद ६० वर्ष


  • 437
    SHARES
  • २०७८ कार्तिक २३ गते मंगलबार

    अध्यादेशबाट संघीय निजामति ऐन आउँदै, कर्मचारीको उमेर हद ६० वर्ष

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । 

    मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताए । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो समयदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुनुपर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

    मन्त्री श्रेष्ठले भने, “म सङ्घीयतासँगै कर्मचारीमैत्री भएकाले मेरो कार्यकालमा कर्मचारीमैत्री नीति बनाउने पहल गरिरहन्छु ।” सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थित गर्न सङ्घीय निजामती सेवा ऐन अत्यावश्यक भएकाले पटक पटक संसद् अवरुद्ध हुँदा अध्यादेशबाट भए पनि ऐन जारी गर्न सङ्घीय निजामती विधेयक संसद्बाट फिर्ता गरिएको मन्त्री श्रेष्ठले स्पष्ट पारे।

    प्रशासकीय अधिकृत प्रदेशबाटै

    उनले ऐन जारी भई प्रदेश लोकसेवा आयोग पूर्णरूपमा कार्यान्वयनमा आएपछि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेशअन्तर्गत रहने बताए । अहिले कर्मचारी प्रशासन सङ्क्रमणकालीन अवस्थामा रहेकाले मात्र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सङ्घबाट पठाइएको उनको धारणा छ ।

    देश सङ्घीयतामा जाने तर व्यवहार भने एकात्मक हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने चर्चा गर्दै मन्त्री श्रेष्ठले भने “प्रदेश र स्थानीय तहबीच लिङ्केज कायम गर्नका लागि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेशअन्तर्गत हुनुपर्छ ।” गोरखापत्र दैनिकबाट

    यस अगाडि संसद्को राज्य व्यवस्था समितिले छलफलको माध्यमबाट अगाडि बढाएको विषयहरूलाई नै अध्यादेशमार्फत ल्याउन लागिएको मन्त्री श्रेष्ठले बताए । तीन तहको सरकार बलियो हुँदा मात्र सङ्घीयता बलियो हुने भएकाले अधिकार आफैँमा पोको पारेर राख्नुपर्छ भन्ने पक्षमा आफू नभएको मन्त्री श्रेष्ठले स्पष्ट गरे ।

    सङ्घीयता भएका भारत, ब्राजिल स्विजरल्यान्डलगायतका मुलुकमा पनि तीन तहकै सङ्घीयता रहेको र उक्त मुलुकलगायत सङ्घीयता कार्यान्वयन भएका सबै मुलुकमा सङ्घले प्रदेश र प्रदेशले स्थानीय तह सञ्चालन गर्ने संसारको नियम भएको उनको भनाइ छ ।

    तीनै तहले संवैधानिक अधिकार प्राप्त गरेकाले उक्त अधिकार कार्यान्वयन गर्ने क्रममा प्रदेशलाई मिनिमाइज गरेर जान नसकिने मन्त्री श्रेष्ठले बताए । साबिक स्थानीय निकायमा कार्यरत कर्मचारीको पनि एक तह वृद्धि गर्नेसम्बन्धी कानुन अर्थ मन्त्रालयमा छलफलको क्रममा रहेको र त्यसलाई पनि अगाडि बढाइने उनले बताए । (गोरखापत्र दैनिकबाट)


    images
    images

    Logo