images
images

गरिबलाई १० हजार बाँड्न कार्यविधि बन्यो, पाउनेको नाम दैनिक पत्रिकामा छापिने


  • 416
    SHARES
  • २०७८ कार्तिक १७ गते बुधबार

    गरिबलाई १० हजार बाँड्न कार्यविधि बन्यो, पाउनेको नाम दैनिक पत्रिकामा  छापिने

    काठमाडौं । प्रतिस्थापन बजेटमार्फत् सरकारले ल्याएको गरिब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ नगद वितरणका लागि कार्यविधि बनेको छ । अर्थ मन्त्रालयले कोभिड–१९ को महामारीबाट प्रभावित गरीब तथा विपन्न परिवारलाई नगद हस्तान्तरणसम्बन्धि कार्यविधि बुधबार राजपत्रमा प्रकाशित गरेको हो । उक्त कार्यविधि अनुसार  स्थानीय तहलाइ महामारीका कारण प्रभावित विपन्न वर्ग परिवारको एकीन गर्ने जिम्मा दिइएको छ । 

    कार्यविधिले कोभिडका कारण रोजगारी तथा आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिविपन्न परिवारको तत्कालको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नगद राहत उपलब्ध गराइने व्यवस्था गरेको छ । 

    यस्तो छ १० हजार पाउने व्यवस्था

    कोभिडका कारण विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रको मजदुर वा कामदार, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक। ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया, कोभिड–१९ संक्रमणको कारणबाट एकाघर परिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारलाई यस्तो नगद प्रदान गरिने कार्यविधिले व्यवस्था गरेको छ । 

    तर, सरकारी जागिरे तथा कुनैपनि सामाजिक सुरक्षामा आवद्ध परिवारका लागि भने यो सुविधा उपलब्ध नहुने जनाइएको छ । कार्यविधि अनुसार स्थानीय तहले रकम पाउन योग्यको सूची तयार गर्नेछ । रकम वितरण गर्नुअघि यसरी तयार पारेको सूची मन्त्रालयले राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नेछ । 

    यो सुविधाको उपयोग गर्न चाहने परिवारको कुनै एक सदस्यले नगद प्राप्त गर्नका लागि प्रकाशित सूचनामा तोकिएको अवधिभित्र आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपिका साथ आफू बसोबास गरेको वडा कार्यालयमा निवेदन दिनुपर्ने जनाइएको छ ।

    कार्यविधिले राहत प्राप्त गर्नका लागि बैंक खाता अनिबार्य गरेको छ । निवेदन दिँदा नै बैंक खाताको विवरण उल्लेख गर्नु पर्नेछ । बैंक खातामार्फत् नै राहत वितरण हुनेछ । निवेदन पेश गर्ने वडाभित्र अस्थायी बसोबास गर्दै आएका निवेदकको हकमा एकाघर परिवारको सदस्य बाहेक छिमेकमा बस्दै आएका अन्य कुनै नेपाली नागरिक वा निज बहालमा बस्दै आएको घरधनीले त्यसरी अस्थायी बसोबास गर्दै आएको व्यहोरा सनाखत गरेको हुनु पर्ने कार्यविधिमा उल्लेख छ ।


    images
    images

    Logo