काठमाडौं । तिहार नजिकिँदै जाँदा बजारमा भाइमसलाको खरिदबिक्रीको चाप बढ्दै गएको छ । तिहारका लागि शहर बाहिर जानेले शहरबाट भाइमसला किनेर गाउँ फर्किसकेका छन् । शहरमै बस्ने वा ढिला गरी गाउँ जानेहरु पनि अहिले शपिङको चटारोमा छन् ।
तिहारमा सबैभन्दा बढी खपत हुने सामान भनेकै भाइमसला, झिलिमिली बत्ति, फूल र रङ हुन् । यो वर्ष भाइमसलाको मूल्य अघिल्लो वर्षसँग स्थिरजस्तै देखिएको छ । नेपाल खुद्रा ब्यापार संघले अघिल्लो वर्ष र यो वर्ष उपलब्ध गराएको तथ्यांक अनुसार काजु, ओखर, नरिवल लगायत केही वस्तुमा सामान्य मूल्य बढेको छ । केही सामानको मूल्य घट्दा धेरैजसो वस्तुको मूल्य स्थिर रहेको देखिएको छ ।
त्यस्तै लामो र बेमौसमी वर्षाका कारण यो वर्ष फूलको उत्पादन घटेका कारण मूल्य बढेको छ । यो वर्ष मखमली, सयपत्री र गोदावरी फूलको मूल्य २० प्रतिशतसम्म बढेको नेपाल फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ । कोरोना महामारीका कारण पुष्प व्यवसाय छोड्नेहरु बढेकोले पनि यो वर्ष स्वदेशमा फूल उत्पादन घटेको हो । यसले गर्दा पनि मूल्यमा केही चाप परेको व्यवसायीहरुको भनाइ छ ।
उता झिलिमिली बत्तिको मूल्य भने यो वर्ष सामान्य मात्रै बढेको छ । चिनियाँ नाकाबाट समयमा सामान नआइपुग्दा यो वर्ष यसको मूल्य केही बढेको हो । यद्यपि ब्यापारीहरु यस्ता सामानको मूल्य प्रत्येक वर्ष बढ्ने गरेको बताउँछन् ।
झिलिमिली बत्तिको मूल्य भने डिजाइन अनुसार फरक पर्छ । अघिल्ला वर्षमा प्रचलित डिजाइनको बत्तिहरुमा आकर्षण कम हुने भएकोले यी व्यापारीहरुले यी सामानाहरुको मूल्य घटाएर बेचिरहेको समेत अवस्था छ ।




