काठमाडौं । अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको औषधि र अवैध लागूऔषध सहित ७ जना पक्राउ परेका छन् । देशका विभिन्न जिल्लाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
लहान नगरपालिका–१९ कटहा चोकमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको २ सय २५ एमएलको १ हजार ६२ बोतल ‘लाइकोटोन’ औषधि सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लहान नगरपालिका–१ बस्ने २२ वर्षीय शत्रुधन राम र बरियारपट्टि गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रदेश २(०१(००१ ह ०६७३ नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधि फेला पारी औषधि ल्याउने किशोरलाई नगद ४३ हजार नेपाली रुपैयाँ र टेम्पु चालक शत्रुधनलाई ट्याम्पु सहित पक्राउ गरेको हो ।
अवैध लागूऔषध सहित पक्राउ
कास्की, पोखरा महानगरपालिका–३० सैनिक बस्ती बस्ने ३१ वर्षीय बिक्की गुरुङ समेत २ जनालाई नियन्त्रित लागूऔषध २० एम्पुल डाईजापाम, २० ऐम्पुल फेनारगन र २० ऐम्पुल नुर्फिन सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले घरमा अवैध लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सिरहा, लहान नगरपालिका–९ बस्ने ६५ वर्षीय देब नारायण चौधरीलाई करिब ९ सय अवैध लागूऔषध गाँजा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनको किराना पसलमा अबैध लागूऔषध गाँजा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त पसल जाँच गर्ने क्रममा पसलभित्र लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।



