काठमाडौं । तीन वाणिज्य बैंकले वित्तीय विवरण प्रकाशन गरेका छन् । कृषि विकास बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा आधारित वित्तीय विवरण प्रकाशन गरेका हुन् ।
कृषि विकास बैंक
कृषि विकास बैंकले पहिलो त्रैमासमा ४८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्ष कमाएको नाफा भन्दा २ करोड रुपैयाँ बढी हो । यो नाफा प्रतिशेयर वार्षिक १४.७० रुपैंयाँ हो ।
बैंकको इम्पेरिमेन्ट चार्ज बढ्दा नाफा वृद्धिमा अवरोध देखिएको छ । यो अवधिमा बैंकले यस्तो चार्जमा ५५ करोड ३१ लाख रुपैयाँ छुट्याएको छ । रेगुलेटरी रिजर्भ बढ्दा बैंकको वितरणयोग्य नाफा भने २४ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
बैंकले यो अवधिमा १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ९ अर्ब रुपैयाँ कम र कर्जा १३ अर्ब रुपैयाँ बढी हो ।
नाफा सामान्य मात्रै बढे पनि बैंकको खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी सबै बढाएको छ । बैंकको वितरणयोग्य नाफा भने २४ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
कुमारी बैंक
कुमारी बैंकले पहिलो त्रैमासमा ५४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्ष कमाएको नाफा भन्दा ६ करोड १४ लाख रुपैयाँ (१०.१९ प्रतिशत) कम हो । यो नाफा प्रतिशेयर वार्षिक १५.६० रुपैंयाँ हो । रेगुलेटरी रिजर्भको रकम फिर्ता आउँदा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ३ करोड पुगेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी सामान्य घटेको छ । कमिसन तथा शुल्क आम्दानी भने बढेको छ । यो अवधिमा बैंकले १ अर्ब २८ करोड खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २१ करोड थियो ।
बैंकले यो अवधिमा १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा झन्डै १० अर्ब रुपैयाँ र कर्जा १५ अर्ब रुपैयाँ बढी हो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पहिलो त्रैमासमा ९४ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्ष कमाएको नाफा भन्दा ४४ करोड ८१ लाख रुपैयाँ (४२.२७ प्रतिशत) बढी हो । यो नाफा प्रतिशेयर वार्षिक ३३.६१ रुपैंयाँ हो । बैंकको वितरणयोग्य नाफा भने २९ करोड मात्रै रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी, कमिसन तथा शुल्क आम्दानी लगायतको कारणले नाफामा यस्तो वृद्धि देखिएको हो । यो अवधिमा बैंकले १ अर्ब ७५ करोड खुद ब्याज आम्दानी गरेको छ । ३५ करोड खुद कमिशन तथा शुल्क आम्दानी गरेको छ ।
बैंकले यो अवधिमा १ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ३ अर्ब रुपैयाँ र कर्जा १५ अर्ब रुपैयाँ बढी हो ।



