काठमाडौं । सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासमा ५० रुपैयाँ, पेट्रोल, डिजेल, मट्टितेलमा ३ रुपैयाँ र हवाई इन्धन(आन्तरिक)मा १० रुपैयाँ मूल्य बढाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ । त्यसैगरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ पुगेको छ । आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु ९६ पुगेको छ ।
निगम सञ्चालक समितिको निर्णयअनुसार आज रातिदेखि लागू हुनेगरी मुल्य वृद्धि गरिएको निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० वृद्धि गरी एक हजार ५०० कायम गरिने भएको छ ।

पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा रु दुई अर्ब २२ करोड घाटा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यतिको मूल्य बृद्धि हुँदा समेत निगमलाई अझै दैनिक १२ करोड ४४ लाख घाटा हुने गरेको निगम स्रोतको दावी रहेको छ ।



