काठमाडौं । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा एक जना लाई प्रहरीले पक्राउ गरेको छ । भने अन्य दुई जना फरार रहेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका—३ घर भएका २७ वर्षीय मिन बहादुर पाइन रहेका छन् । उनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका–८ जगडोलबाट प्रहरीले पक्राउ गरेको हो । फरार रहेका अन्य २ जनालाई खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पाईनलाई ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२(३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।



