काठमाडौं । नियामकीय प्रावधानलाई पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंकले ५ फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा भएको सुपरिवेक्षणका क्रममा कैफियत भेटिएपछि ती कम्पनीमाथि कारबाही गरिएको हो ।
त्यसरी कारबाहीमा पर्ने कम्पनीमा समृद्धि फाइनान्स, गुडबिल फाइनान्स, ललितपुर फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स र जानकी फाइनान्स छन् । ललितपुर फाइनान्स भने एक वर्षको अवधिमा ४ पटक कारबाहीमा परेको छ ।
त्यसरी कारबाहीमा परेका कम्पनीमध्ये समृद्धि फाइनान्स र गुडबिल फाइनान्सले सीआरआर कायम नगरेको, ललितपुर, सिटी एक्सप्रेस र जानकी फाइनान्सले विपन्न वर्ग कर्जामा पर्याप्त लगानी नगरेको एवं ललितपुर फाइनान्सले सीसीडी अनुपात कायम नगरेको भेटिएको छ ।
ती फाइनान्समध्ये सबैभन्दा बढी पटक कारबाहीमा पर्ने ललितपुर फाइनान्स नेपाल फाइनान्ससँग मर्जरमा गइसकेको छ ।




