काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य राखेको विश्वासको मत दिने प्रस्तावमाथि आज प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा उनको विश्वासको मत दिनेबारे छलफल भएको थियो । छलफल सकिएपछि आज मतदान हुने भएको हो । त्यसका लागि आज साढे १२ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
असोज २५ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको विश्वासको मतसम्बन्धी प्रस्ताव दशैं बिदाका कारण छलफल हुन सकेको थिएन । शुक्रबार यससम्बन्धी छलफल सुरु भएको थियो ।
आचार्यले कति पाउलान् मत ?
अहिले प्रदेशसभामा एमालेका ४१, काँग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसद छन् । योसहित कुल कायम रहेको सांसदको संख्या ९२ जना हुन्छ ।
बहुमत प्राप्त गर्न संसदमा कुल कायम रहेको संख्याको बहुमत सदस्यको समर्थन चाहिने भएकोले आचार्यले विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ । अहिले एमालेका ४१ जना मात्रै आचार्यको समर्थनमा छन् । राप्रपा तटस्थ छ भने अरु दलहरु आचार्यको विपक्षमा छन् ।
त्यसमध्ये सभामुख समेत एमालेको रहेका र एकजना सांसद फरा रहेका कारण आचार्यको पक्षमा ३९ मत मात्रै आउने सम्भावना छ । यो विश्वसको मतका लागि अपुग संख्या हो । यसकारण आचार्य सरकार आजै ढल्ने सम्भावना देखिएको छ ।



