काठमाडौं । ग्यास बुलेट ढुवानी गर्ने चालकहरुको अवैध धन्दा बाहिर आएको छ । भारतीय डिपोबाट ग्यास भरेर नेपाली बोटलिङ प्लान्टसम्म ढुवानी गर्ने ग्यास बुलेट चालकहरुले अवैध रुपमा बाटोमै सिलिन्डर भरेर बेच्ने गरेको रहस्य खुलेको हो ।
मंगलबार मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा बुलेटबाट ग्यास सिलिन्डर भरिरहेको अवस्थामा सोही स्थानका होटल सञचालक भरत कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले कार्कीलाई ग्यास बुलेट र ३१ थान ग्यास सिलिन्डरसिहत पक्राउ गरेको हो ।
होटल सञ्चालक कार्कीले त्यसरी भरेको ग्यास गाउँ गाउँमा पठाउने गरेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । उनीमाथि थप कारबाही भइरहेको छ । अहिले ग्यास बुलेटमा भारतीय एकाधिकार रहेको छ । नेपाली बुलेट र चालकलाई अनुमति नदिँदा नेपाल आयल निगमले भारतकै बुलेट र भारतीय चालककै भरमा ग्यासको आपूर्ति गर्नुपर्ने बाध्यता छ ।
यसअघि पेट्रोलियम पदार्थमा हुने चुहावट नियन्त्रणका लागि निगमले लकिङ सिस्टम प्रयोगमा ल्याए पनि ग्यास भारतीय भएकै कारण बुलेटमा यो प्रणाली लागु हुन सकेको छैन ।



