images
images

उच्च मूल्यवृद्धि भएपछि भदौ र असोज महिनामा सुनको आयात शून्य


  • 471
    SHARES
  • २०८१ कार्तिक १० गते शनिबार

    उच्च मूल्यवृद्धि भएपछि भदौ र असोज महिनामा सुनको आयात शून्य

    काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो र तेस्रो महिनामा नेपालले सुनको आयात शून्य जस्तै देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको वैदेशिक व्यापार तथ्याङ्क अनुसार भदौ महिनामा ५५ ग्राम मात्रै सुन आयात भएको र असोज महिनामा शून्य आयात देखिएको हो । 

    तथ्याङ्क अनुसार चालु आवको साउन महिनामा एक लाख १ सय ५ ग्राम सुन आयात भएको थियो । तर, भदौ महिनामा भने ५५ ग्राम मात्रै सुन आयात भएको देखिएको छ । यस अनुसार भदौमा सुनको व्यावसायिक आयात शुन्य रहेको देखिएको छ । ५० ग्राम सुन भने कुनै व्यक्तिले आयात गरेको विभागको तथ्याङ्कले देखाएको हो । असोज महिनामा भने एक रुपैयाँ बराबर रकमको पनि सुन आयात भएको देखिएको छैन । 

    नेपालमा व्यावसायिक रुपमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरुलाई मात्रै छ । बैंकहरूले पनि दिनमा २० केजी सुन आयात गर्न पाउँछन् । तर, भदौमा उनीहरुले सुन आयात नगरेको तथ्याङ्कले देखाएको छ । 

    रकमका आधारमा भदौमा पाँच लाख २३ हजार रुपैयाँको मात्रै सुन आयात भएको देखिएको छ । गत साउन मसान्तसम्म एक अर्ब चार करोड २७ लाख ६६ हजार रुपैयाँको सुन आयात भएको थियो ।

    यसरी सम्रगमा हेर्ने हो भने तीन महिनामा एक लाख १ सय ५५ ग्राम सुन आयात भएको छ । रकमको आधारमा भने तीन महिनामा कुल १ अर्ब ४ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । जसबाट सरकारले २० करोड ८६ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

    बिशेषगरी सुनको मूल्य निरन्तर बढ्दा यसका गरगहनाको मागमा पनि संकुचन आएको छ । पछिल्लो समय सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । त्यसले गर्दा नेपाली बजारमा सुन महंगो हुन गई माग पनि घट्दै गएको छ । 

    गत आर्थिक बर्षमा २६ लाख ५२ हजार ग्राम सुन नेपाल आयात भएको थियो । त्यसको लागत मूल्य २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँ रहेको विभागको तथ्याङ्क छ । 

    नेपालमा पछिल्लो पटक फागुन–चैत यतादेखि सुनको मूल्य बढ्दै आएको छ । फागुन १ गते सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ थियो । फागुन महिनामा त्यो बढेर एक लाख २६ हजार रुपैयाँसम्म पुगेको थियो । 

    चैतमा भने त्यो बढेर एक लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो । तर, त्यसबेला सुनको कारोबार पनि उच्च नै थियो । हिजाे शुक्रबार नै पनि सुनको मूल्य तोलाकै १ लाख ६६ हजार रुपैयाँ पुगेको छ । यसरी मूल्य आकाशिएसँगै सुनको मागमा पनि कमी आएको छ ।

    उता, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भने दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन् ।


    images
    images

    Logo