images
images

विश्वका १२२ देशसँग नेपालको व्यापार, १०४ सँग व्यापार घाटा


  • 371
    SHARES
  • २०८१ आश्विन ८ गते मंगलबार

    विश्वका १२२ देशसँग नेपालको व्यापार, १०४ सँग व्यापार घाटा

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो २ महिनामा नेपालले १२२ देशसँग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनामा यस्तो अवस्था देखिएको हो ।

    तर, नेपालले वैदेशिक व्यापारको सम्बन्ध स्थापित गरेको सबैजसो मुलुकसँग व्यापार घाटा छ । व्यापार गरेको १२२ देशमध्ये १०४ वटा देशसँग मुलुकले घाटा वेहोरेको छ भने बाँकी १८ वटा मुलुकहरुसँग मात्र केहीँ नाफा गरेको विभागले जनाएको छ । 

    नेपालले दोहोरो व्यापार गरेका मुलुकहरुमध्ये अफगानिस्तान, अरुबा, अस्ट्रेलिया, बोसिना एण्ड हरिगोविना, क्यामन आइसल्याण्ड, चाडं, क्रोशिया, डेनमार्क, जिओग्रिया, आइसल्याण्ड, इरान, लेटभिया, लेभनान, माल्दिभ्स्, पानामा, रुसियन फ्रिडेशन, सुडान र भेनुजेलासँग मात्र केहीँ नाफा गरेको देखिएको छ । 
     
    सबैभन्दा बढी व्यापार घाटा दुई छिमेकी मुलुक भारत र चीनसँग नै रहेकोमा पहिलोमा भारत र दोस्रोमा चीन रहेको भन्सार विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार भारतसँग १ खर्ब ४४ अर्ब ६६ करोड रुपैयाँ माथिको व्यापार घाटा रहेको छ भने चीनसँग नेपालको व्यापार ५१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ रहेको छ । 

    आर्थिक वर्षको साउन र भदौमा नेपालले भारतसँग १ खर्ब ६० अर्ब ६५ करोड रुपैयाँ बराबरको मालवस्तु खरिद गर्दैगर्दा यताबाट जम्मा १५ अर्ब ९८ करोड ५० लाख रुपैयाँ बराबरको मात्र वस्तु बेच्न सकेको छ । चीनतर्फ जम्मा २९ करोड ७४ लाख रुपैयाँ बराबरको मात्र मालवस्तु निर्यात गर्न सकेको नेपालले उताबाट ५२ अर्ब १० करोड १४ लाख रुपैयाँ बराबरको आयात गरेको भन्सार विभागले जनाएको छ । 

    चालु आर्थिक वर्षको साउन र भदौमा मात्र नेपालले वैदेशिक व्यापारतर्फ खुद २ खर्ब ३७ अर्ब घाटा वेहोरेको छ । समीक्षा अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गर्दैगर्दा यताबाट नेपालले जम्मा २५ अर्ब ९ करोड रुपैयाँ बराबरको मात्र मालवस्तु निर्यात गर्न सकेको हो ।

    चालु आर्थिक वर्षको २ महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको समान आयात भएको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको आयात गत आर्थिक वर्षको तुलनामा १.०८ प्रतिशतले बढी हो । विभागका अनुसार गत आर्थिक वर्षको २ महिनाको तुलनामा चालु आर्थिक वर्ष निर्यात ५.१२ प्रतिशतले घटेको छ । व्यापार घाटा १.७८ प्रतिशतले बढेको छ ।


    images
    images

    Logo