images
images

दुई महिनामा नेपाल भित्रियो १३ अर्ब वैदेशिक लगानी प्रतिवद्धता


  • 365
    SHARES
  • २०८१ आश्विन २ गते बुधबार

    दुई महिनामा नेपाल भित्रियो १३ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो २ महिनामा करिब १३ अर्ब रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिवद्धता नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अटोमेटिक रुट र कागजी प्रक्रियाबाट गरेर सो बराबरको विदेशी लगानी प्रस्ताव आएको हो ।

    आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा अटोमेटीक रुटबाट ८६ करोड २५ लाख ६० हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । बिभिन्न ५२ परियोजनामा सो बराबरको लगानी प्रतिवद्धता अटोमेटीक रुटबाट आएको तथ्यांकमा उल्लेख छ । 

    त्यसमा उत्पादनमुलुक क्षेत्रका दुई परियोजनामा सात करोड ५० लाख रुपैयाँ, पर्यटन क्षेत्रका आठ परियोजनामा २८ करोड रुपैयाँ, सेवा क्षेत्रका तीन परियोजनामा २४ करोड रुपैयाँ, पुर्वाधार क्षेत्रका एक परियोजनामा दुई करोड रुपैयाँ र आईटीको ३८ परियोजनामा २४ करोड ७५ लाख ५० हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । अटोमेटिक रुटतर्फ संख्याको आधारमा आईटीमा उच्च आर्कषण देखिन्छ । 

    सरकारले गत बैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको अवसरमा अटोमेटिक रुटबाट पनि विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था गरेको थियो । त्यस माध्यमबाट ५० करोड रुपैयाँसम्मको लगानी स्वीकृत गर्न सकिन्छ । यस प्रणालीले साना लगानीकर्तालाई सहजता मिलेको विभागको भनाई छ ।

    यस्तै, यो दुई महिनामा कागजी प्रक्रियाबाट थप १२ अर्ब १२ करोड २४ लाख रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ । बिभिन्न ९७ परियोजनामा सो बराबरको लगानी प्रस्ताव आएको छ । त्यसमा दुई ठूला र ९५ वटा साना परियोजना छन् । 

    त्यसमा पर्यटनमा मात्रै ७१ वटा परियोजनामा विदेशी लगानी प्रस्ताव आएको छ । यस्तै, सेवामा १५, आईटीमा तीन, उत्पादनमा छ र कृषिमा दुई परियोजनामा विदेशी लगानी प्रस्ताव आएको तथ्यांकमा उल्लेख छ । यो प्रतिवद्धताअनुसार लगानी आएर परियोजना सञ्चालनमा भएमा ४८५ जनाले रोजगारी पाउनेछन् । 

    गत आवको पहिलो दुई महिनामा १४ अर्ब ६२ करोड रुपैयाँ विदेशी लगानी आएको थियो । त्यसको तुलनामा भने यसपाली विदेशी लगानी प्रस्ताव घटेको देखिन्छ । 

    यस्तै, समीक्षा अवधीमा शेयर खरीद र सदस्यता सम्झौतामार्फत भने थप ५९ करोड ६२ लाख ६२ हजार रुपैयाँ लगानी प्रस्ताव भएको छ । यो उद्योग बिभागमा दर्ता भएको वैदेशिक लगानी प्रतिवद्धता मात्रै हो । लगानी बोर्डमा आउने लगानी प्रतिवद्धता यसमा समावेश छैन ।


    images
    images

    Logo