images
images

दुई महिनामा सरकारको बजेट बचत २९ अर्ब, आम्दानी र खर्च कति ?


  • 370
    SHARES
  • २०८१ आश्विन १ गते मंगलबार

    दुई महिनामा सरकारको बजेट बचत २९ अर्ब, आम्दानी र खर्च कति ?

    काठमाडौं । चालू आर्थिक वर्षमा सरकारले २९ अर्ब रुपैयाँ बजट बचत गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ महिनामा सरकारको २९ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ बजेट बचत भएको हो । 

    सरकारको आम्दानी भन्दा खर्च बढी हुँदा बजेट घाटा र खर्चभन्दा आम्दानी बढी हुँदा बजेट बचत भन्ने गरिएको छ । आर्थिक वर्षको सुरुवातकै महिना भएका कारण बजेट बचत भएको भएतापनि पछिका महिनाहरुमा भने सरकारले प्रायः बजेट घाटा नै ब्यहोर्दै आएको छ । 

    चालू आर्थिक वर्षको पहिलो २ महिनामा सरकारले १ खर्ब ६६ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी सरकारले अनुमान गरेको लक्ष्य अर्थात् १४ खर्ब ७१ अर्ब ६२ करोड रुपैयाँको ११.५२ प्रतिशत मात्र हो । 

    सो अवधिमा सरकारले राजस्व मार्फत् १ खर्ब ६४ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन निर्धारित लक्ष्यको ११.७२ प्रतिशत हो । चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । 

    कर राजस्व शिर्षकमा सरकारले २ महिनामा १ खर्ब ४२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी चालू आर्थिक वर्षका लागि निर्धारण गरिएको लक्ष्यको ११.३१ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षमा कर राजस्व शिर्षकमा १२ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ संकलन गर्ने उद्देश्य लिएको छ । 

    त्यस्तै, गैरकर राजस्व शिर्षकमा सरकारले साउन र भदौमा २१ अर्ब ७ करोड रुपैयाँ संकलन गरेको छ, जुन लक्ष्यको १५.६९ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षमा गैरकर शिर्षकमा १ खर्ब ३५ अर्ब ९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । 

    २ महिनाको अवधिमा सरकारको खर्च भने १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । उक्त खर्च सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् निर्धारण गरेको खर्चको ७.३९ प्रतिशत हो । चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

    चालू आर्थिक वर्षको भदौ मसान्तसम्म आइपुग्दा सरकारले चालू खर्चका लागि छुट्याइएको बजेटको ७.२८ प्रतिशत रकम खर्च गरेको छ । सरकारले चालू खर्च शिर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको थियो जसमध्ये, ८२ अर्ब ९८ करोड रुपैयाँ मात्र खर्च भएको छ । 

    त्यस्तै, पुँजीगत खर्चका लागि छुट्याइएको बजेटको ४.२३ प्रतिशत रकम मात्रै खर्च भएको छ । चालू आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएको थियो । हालसम्म १४ अर्ब ८९ करोड रुपैयाा पुँजीगत खर्च भएको छ । 

    साथै, चालू आर्थिक वर्षमा वित्तिय व्यवस्था शिर्षकमा ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये, हालसम्म १०.८ प्रतिशत अर्थात् ३९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांकमा जनाइएको छ । 


    images
    images

    Logo